जनआवश्यकता केन्द्रीत कार्यक्रम लिएर अघि बढ्दै सिंजा गाउँपालिका
जनआवश्यकता केन्द्रीत कार्यक्रम लिएर अघि बढ्दै सिंजा गाउँपालिका
    • उमेश बुढा

    • ११ असार २०८२, बुधबार

 जुम्ला

सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम स्थानीय जनताको आवश्यकता र समस्या आधारित रहेको जनप्रतिक्रिया देखिएको छ। गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले अषाढ १० गते गाउँसभा समक्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रमले ग्रामिण पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनजस्ता बहुआयामिक विषयमा केन्द्रित लक्ष्यहरु समेटेको छ।

नीतिअनुसार, ग्रामीण सडक विस्तार, अन्तरपालिका तथा जिल्लासँग जोडिने सडक निर्माण, हिमा नदीमा पुल निर्माण, र सिंजाको समृद्ध सभ्यता संरक्षणसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन प्राथमिकतामा राखिएका छन्। साथै, कृषकहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमसमेत समावेश गरिएको छ।

गएको झन्डै तीन वर्षको अवधिमा गाउँपालिकाले गरेका कार्यप्रति सन्तोष व्यक्त गर्दै गाउँसभा सदस्यहरूले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा र योजनाको अपेक्षा व्यक्त गरेका छन्।

यस वर्ष गाउँपालिकाको भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ भने, मालपोत तथा नापी कार्यालयका सेवाहरूलाई प्रभावकारी बनाउने पहल गरिनेछ। खानेपानी पहुँच अभिवृद्धिका लागि ९० प्रतिशत घरधुरीसम्म धारो पुर्‍याउने योजना पनि समावेश गरिएको छ।

शिक्षा क्षेत्रमा सबै विद्यालयमा स्मार्ट बोर्ड उपलब्ध गराउने र सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिनेछ। स्वास्थ्यतर्फ अस्पताल निर्माणका लागि पहल गरिनुका साथै प्रयोगशाला, नयाँ स्वास्थ्य भवन, एम्बुलेन्स र शवबाहनको व्यवस्था गरिने भएको छ।

माटोको छाना भएका घरहरूमा पुनर्निर्माणका लागि प्रोत्साहन दिइने र टिनका छाना फेर्ने कार्य समेत गरिनेछ। स्थानीय भाषा, संस्कृति र सम्भावनाका विषयमा विज्ञहरूसँग छलफल आयोजना गरिनेछ भने ऐतिहासिक केदारनाथ क्षेत्रको प्रचारप्रसारमा पनि विशेष ध्यान दिने बताइएको छ।

अध्यक्ष धितालले सेवा प्रवाहमा सुशासन र पारदर्शिता सुनिश्चित गर्दै गाउँपालिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

साताकाे चर्चित
सम्बन्धित