सिरहाको लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा आज एउटा गहिरो साँस्कृतिक, ऐतिहासिक र धार्मिक चेतनाको केन्द्रका रूपमा उदाउँदै छ। स्थानीयको आस्था, किंवदन्ती र योजनाबद्ध विकासका प्रयत्नले यो ठाउँ अब केवल डाँडा मात्र होइन, भविष्यको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा पहिचान बनाउँदैछ।
राजाजी डाँडाको महत्त्व सयौँ वर्ष पुराना इँटाका पर्खाल, इनार, देव हाट र पूजाआराधना गर्ने स्थलहरूले प्रमाणित गर्छन्। जनविश्वास अनुसार संकटका बेलामा यहाँको देवता ‘राजाजी बाबा’ लाई पुकार्दा मनोकामना पूरा हुन्छ। किंवदन्तीअनुसार यही डाँडामा कहिल्यै नदेखिएको राजाको दरबार थियो, जसका प्रधानमन्त्री राजा सलहेस थिए भन्ने विश्वास प्रचलित छ।
डाँडाको पुरातात्विक महत्त्वलाई बल दिने प्रमाणहरू आज पनि बाँकी छन्। स्थानीय वडाध्यक्ष गर्जामगर भन्छन्, “हामीले आफ्ना हजुरबुबाको पालादेखि यहाँका इँटाका संरचना देखेका हौँ, तर संरक्षण अभावमा ती जीर्ण बन्दै गएका छन्।”
यस क्षेत्रको विकासका लागि लहान नगरपालिकाले गहवर मन्दिर निर्माण गरिसकेको छ भने भविष्यमा सिँढी तथा अन्य पूर्वाधार विकास गर्ने योजना अघि सारेको छ। नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, “राजाजी डाँडा आज आस्था, इतिहास र पर्यटनको त्रिवेणी बन्दै गएको छ।”
लहान नगरपालिकाले सलहेससँग सम्बन्धित स्थलहरू — सलहेस फूलबारी, पकडियागढ, देवीदह, मानिक दह र राजदेवी मन्दिरलाई एउटै गुरुयोजनामा समेटेर ‘सलहेस सर्किट’ निर्माणको रणनीति अघि सारेको छ।
सलहेस फूलबारी: वैशाख १ मा मात्र फुल्ने सुनाखरी फूल र सलहेस–मालिनीको मिलनको कथा बोकेको फूलबारी हरेक वर्ष लाखौँ श्रद्धालुको केन्द्र बन्छ।
पकडियागढ: प्राचीन दरबार, चोहरमल सुरुङ र पोखरीसहितको धार्मिक स्थल जसमा भारतबाट समेत तीर्थयात्री आउँछन्।
देवीदह: बलान नदी किनारको स्नानस्थल, जहाँ स्नान गर्दा रोग निको हुने विश्वास छ।
मानिक दह: सलहेसले स्नान गर्ने भनिएको विशाल जलासय, जहाँ ठूलो मेला लाग्छ।
राजदेवी मन्दिर: हजारौँ बलिहरू चढाइने, गहिरो आस्थाको केन्द्र।
नगरपालिकाको योजना अनुसार यी सबै स्थललाई संरचना, कथा र आस्थासँग जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य रहेको छ।
यदि यी स्थलहरूको समन्वित संरक्षण र प्रवर्द्धन गर्न सकियो भने लहान नगरपालिका नेपालको एक अद्वितीय धार्मिक–पर्यटकीय नगरी बन्नेमा कुनै शंका छैन। स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य, साथै स्थानीय समुदायको स्वामित्वले यो सपना साकार हुन सक्छ।