ब्रिजटाउन ।
अस्ट्रेलिया र वेस्ट इन्डिजबीच जारी पहिलो टेस्ट क्रिकेटमा दोस्रो दिनसम्म अस्ट्रेलियाले ८२ रनको अग्रता लिएको छ।
पहिलो पालीमा अस्ट्रेलिया १८० रनमै अलआउट हुँदा वेस्ट इन्डिजले १९० रन बनाएको थियो। दोस्रो पालीमा अस्ट्रेलियाले चार विकेट गुमाएर ९२ रन बनाएको छ।
वेस्ट इन्डिजका युवा तीव्र गतिका बलर जेडन सिल्सले अस्ट्रेलियाको पहिलो पालीमा पाँच विकेट लिएर टोलीलाई सस्तोमा समेट्न मद्दत गरे।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको विकेट पनि उनले लिए।
तर कमिन्सको विकेट लिएपछि सिल्सले देखाएको अशोभनीय व्यवहारका कारण उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कारवाही गरेको छ।
सिल्सले कमिन्सलाई ड्रेसिङ रुमतर्फ जान इशारा गर्ने व्यवहार खेल भावना विपरीत भएको ठहर गर्दै आईसीसीले उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिने निर्णय गरेको छ।
आईसीसीको विज्ञप्तिमा भनिएको छ, “बलरले विकेट लिएको समयमा अपमानजनक भाषा, क्रियाकलाप वा आक्रामक व्यवहार देखाउनु खेल भावना विरुद्ध हो।”