अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन, हृदयाघातको आशंका
अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन, हृदयाघातको आशंका
    • बेल संचार

    • १४ असार २०८२, शनिबार

मुम्बई

चर्चित ‘काँटा लगा’ म्युजिक भिडियोबाट लोकप्रिय भएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। ४२ वर्षीया शेफालीको जुन २७ को राति हृदयाघातका कारण मृत्यु भएको मिडिया रिपोर्टहरूले जनाएका छन्।

शेफालीलाई अचेत अवस्थामा उनका पति पराग त्यागी तथा अन्य साथीहरूले अन्धेरीस्थित बेलेभ्यू अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। अस्पताल स्रोतका अनुसार, उनी अस्पताल आइपुग्दा नै मृत थिइन्। अहिले उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ।

यस घटनापछि मुम्बई प्रहरीले अनुसन्धान अघि बढाएको छ। फरेन्सिक टोली घटनास्थलमा पुगेर प्रमाण संकलन गरिरहेको छ। घरमा कार्यरत कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेशनमा सोधपुछ गरिएको छ भने, परिवारका सदस्यहरूबाट पनि बयान लिइँदैछ।

शेफालीले १९ वर्षको उमेरमा ‘काँटा लगा’ भिडियोमार्फत आफ्नो करिअर सुरु गरेकी थिइन्। बोल्ड अवतार र नृत्यशैलीले उनी रातारात चर्चामा आएकी थिइन्। त्यसपछि उनले ‘मुझसे शादी करोगी’ जस्ता हिन्दी चलचित्र तथा कन्नड फिल्म ‘हुडुगारू’ मा समेत अभिनय गरिन्। साथै, थुप्रै म्युजिक भिडियो र डान्स रियालिटी शोहरूमा पनि उनको उपस्थिति देखिएको थियो।

सन् २०१९ मा उनी रियालिटी शो ‘बिग बोस १३’ मा वाइल्ड कार्ड प्रवेशमार्फत सहभागी भएकी थिइन्, जहाँ उनका पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग पुन: सामीप्यता देखिएको थियो। उल्लेखनीय कुरा के छ भने, सिद्धार्थ शुक्लाको पनि सन् २०२१ मा हृदयाघातकै कारण निधन भएको थियो।

शेफालीको वैवाहिक जीवनमा पनि चर्चा थियो। उनले सन् २००४ मा संगीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन् तर सन् २००९ मा सम्बन्ध विच्छेद भयो। त्यसपछि सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग दोस्रो विवाह गरेकी थिइन्।

शेफालीको असामयिक निधनले बलिउडमा शोकको लहर छाएको छ।

साताकाे चर्चित
सम्बन्धित