दही चिउरा, हिलो र गीत : असार १५ को नेपाली पहिचान
दही चिउरा, हिलो र गीत : असार १५ को नेपाली पहिचान
    • बेल संचार

    • १५ असार २०८२, आईतवार

काठमाडौं।

 नेपाली समाजको कृषि चेतना, परम्परा र उत्सवको संगम हो असार १५। यो केवल एक सामान्य दिन होइन — यो हो खेतमा पसिनाको पूजाअर्चना, हिलोमा रमाइलोको उत्सव र दही चिउरामा मौलिक स्वादको आत्मबोध।

आज देशभर किसानले खेतको हिलोमा ‘छुपु र छुपु हिलोमा धान रोपेर…’ भन्ने असारे भाकासँगै धान रोपेर दही चिउरा खाँदै धान दिवस मनाइरहेका छन्। खेतको छेउमै झुप्रोमा पकाइएका चिउरा, गाउँको भाँडामा जमेको दही, अनि खेतको छेउमा बज्ने मादल — यिनैले बनाउँछ असार १५लाई विशेष।

धान दिवसको दिन किसान केवल रोपाइँ गर्दैनन्, उनीहरू हर्षको गीत गाउँछन्, हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्छन्। युवायुवतीको टोली खेतमा लाठे र रोपाहारको भूमिकामा हुन्छन् — एकातिर परिश्रम, अर्कोतिर हर्ष। असारको यो हिलो अब नेपाली संस्कृति र माटोको प्रतीक बनिसकेको छ।

असार १५ मा दही चिउरा किन खाने परम्परा बन्यो त? दही चिउरा नेपाली समाजमा शक्ति सञ्चयको स्रोत मात्रै होइन, शुभ संकेतको पनि प्रतीक हो। घरबाट बाहिर निस्कँदा निधारमा टीका लगाएर, दही खुवाएर बिदाइ गर्ने चलन आजसम्म जिवित छ। ‘साइत मिल्छ’ भन्ने जनविश्वास आज पनि गहिरो छ।

वैज्ञानिक दृष्टिकोणले पनि दही स्वास्थ्यवर्धक मानिन्छ। आयुर्वेदमा मोहीलाई औषधिको रूपमा लिने चलन छ भने, पखाला लाग्दा दही चिउरा उपचारका लागि उपयोगी ठानिन्छ।

२०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। सरकारको मन्त्रीस्तरीय निर्णयले २०६१ मा यसलाई मान्यता दिएको थियो। कृषिप्रधान नेपालमा यस्तो पर्वले किसानको योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसर दिएको छ।

तर, पर्वको चमकसँगै यसपालि मौसमले साथ दिएको छैन। देशका विभिन्न ठाउँमा वर्षा नहुँदा धान रोपाइँ ढिलो भएको छ। कतिपय स्थानमा रासायनिक मलको अभावसमेत देखिएको छ। यद्यपि कृषि मन्त्रालयले भने पर्याप्त मल मौज्दात रहेको दाबी गर्दै आएको छ।

असार १५ अब केवल कृषिको पर्व नभएर संस्कृतिको उत्सव बनेको छ। यो दिनले नेपाली समाजको माटो, मेहनत र मौलिकतालाई जोगाएर राख्ने बल प्रदान गर्छ। हिलोले लुगा फोहोरी हुन सक्छ, तर आत्मा चाहिँ शुद्ध हुन्छ — यही हो असार १५को सार!

साताकाे चर्चित
सम्बन्धित