काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बिहान ८ बजेका लागि तय गरिएको बैठक स्थगित गरिएको छ। विद्यालय शिक्षा विधेयकमा केही प्रावधानबारे अझै स्पष्ट सहमति नजुटेको भन्दै शिक्षा मन्त्रालयले समय मागेपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
विधेयकलाई अन्तिम रूप दिन आह्वान गरिएको उक्त बैठक नेपाल शिक्षक महासंघको असहमति पछि स्थगन गरिएको हो। महासंघले विशेषगरी राहत र आन्तरिक शिक्षकहरूलाई स्थायीत्वमा लैजाने प्रक्रियासम्बन्धी व्यवस्थामा असहमति जनाएको छ।
वर्तमान प्रस्तावित विधेयकमा आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत शिक्षक स्थायी नियुक्त गर्ने र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशतको व्यवस्था राखिएको छ। तर महासंघले यस अनुपातलाई ७५/२५ मा संशोधन गर्नुपर्ने माग गर्दै आएको छ।
शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग थप परामर्श आवश्यक भएको भन्दै समय माग गरेका थिए। मन्त्रालय र महासंघबीच दिउँसो छलफलपछि समिति बैठक पुनः बस्ने तय गरिएको छ।
शिक्षा मन्त्रालयले महासंघसँग सहमति जुटाएर विधेयकलाई छिटो पारित गर्ने तयारी गरिरहेको जनाएको छ। यसबीच विधेयकमा पहिल्यै सहमति भइसकेका विषयहरूमा समेत असहमति देखिनुले अन्तिम निर्णयमा ढिलाइ हुने संकेत देखिएको छ।