काठमाडौँ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको सीप, ज्ञान र पूँजीलाई उद्यमशीलता र स्वदेशमै रोजगारी सिर्जनासँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकार अब केवल वैदेशिक रोजगार सहजीकरणमा सीमित नरही, फर्केका श्रमिकहरूलाई उद्यमशीलता र आन्तरिक श्रम बजारमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिमा अघि बढेको बताए ।
“हामी वैदेशिक श्रमिकलाई मात्र पठाउने होइन, फर्किएकालाई उद्यमी बनाउने दिशामा लागिरहेका छौं,” मन्त्री भण्डारीले भने, “यो देशमै रोजगारी सिर्जना गर्ने हाम्रो रणनीतिक मोड हो ।”
उनका अनुसार सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ को रूपमा मनाउने निर्णय गरिसकेको छ । त्यसैअनुसार श्रम मन्त्रालयमा ‘आन्तरिक रोजगार महाशाखा’ स्थापना भइसकेको छ, जसले राष्ट्रिय व्यवसायिक प्रतिष्ठानमार्फत रोजगारीका सम्भावनाहरूमा केन्द्रीत तालिम प्रदान गर्दै निजी क्षेत्रसँग सहकार्यमा कार्यक्रम अघि बढाइसकेको छ ।
मन्त्री भण्डारीले प्रतिष्ठानले हालसम्म होटल एसोसिएसन नेपाल, कम्प्युटर एसोसिएसन नेपाल लगायत १३ संस्थासँग सहकार्य सम्झौता गरिसकेको जानकारी दिए । उनले यो संरचनागत परिवर्तनले वैदेशिक रोजगारमा गएकाहरूलाई स्वदेशमै टिकाउने, सीपको सदुपयोग गर्ने र आर्थिक आत्मनिर्भरता तर्फ लैजाने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा विदेशबाट फर्किएर नेपालमै उद्यम सुरु गरेका ८ जना श्रमिक–उद्यमीलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गर्दै उनीहरूको योगदानलाई सम्मान गरिएको थियो ।