खजुरा गाउँपालिकामा कुखुराको मासु खाँदा १३ जना बिरामी, एकै परिवारका सात जना अस्पतालमा
खजुरा गाउँपालिकामा कुखुराको मासु खाँदा १३ जना बिरामी, एकै परिवारका सात जना अस्पतालमा
    • बेल संचार

    • १८ असार २०८२, बुधबार

खजुरा गाउँपालिकामा कुखुराको मासु खाँदा १३ जना बिरामी, अनुसन्धान माग

नेपालगन्ज।

 बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलमा कुखुराको मासु खाँदा १३ जना स्थानीय बिरामी परेका छन्। आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भई भारत–सीमा क्षेत्रबाट ल्याइएको कुखुराको मासु सेवन गरेपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।

गत असार १३ गते राति ८ बजे पुलाउ, मासु र राजमा खाएपछि एक्कासी ज्वरो, झाडा पखाला, रिङ्गटा र बान्ता जस्ता लक्षण देखिएका बिरामीमध्ये ७ जना एकै परिवारका हुन्। बिरामीमध्ये बालबालिका पनि रहेका छन्। उनीहरूको उपचार नेपालगन्ज नजिकै रहेको बाँके सिटी अस्पतालमा भइरहेको छ।

बिरामीमध्ये राम बहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सिता बुढाक्षेत्री, लिला वती बिष्ट, खुसी बिष्ट लगायत रहेका छन्।

खजुरा–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीका अनुसार पुलाउ, तरकारी र अचार खाएकाहरूमा कुनै समस्या नदेखिए पनि विशेष रूपमा कुखुराको मासु खाने व्यक्तिहरूमा लक्षण देखा परेको हो।

घटनाको जानकारी पाएपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक अस्पताल पुगेका थिए। उनले यस घटनाबारे गम्भीर ध्यान दिँदै सम्बन्धित निकायलाई छानबिन गर्न आग्रह गरेका छन्।

यस्तै, बिरामीहरूको अवस्थाबारे जानकारी लिन गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर रोका क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोली अस्पताल पुगेको थियो।

स्रोतका अनुसार स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ, तर घटनाले सीमावर्ती क्षेत्रबाट ल्याइने मासुको गुणस्तर र निगरानी प्रणालीमाथि पुनः प्रश्न उठाएको छ।

साताकाे चर्चित
सम्बन्धित