सिरहा।
असार महिनाको मध्य भइसके पनि सिरहाका खेतहरू अझै सुक्खा छन्। खेत जोतिसकेका छन्, बीउ तयार छन्, तर वर्षाको पर्खाइमा किसानहरू दिन गन्न बाध्य छन्। सिँचाइको भरपर्दो सुविधा नहुँदा सिरहाका अधिकांश किसान अझै पनि केवल आकाशे पानीकै भरमा खेती गर्दै आइरहेका छन्।
लहान नगरपालिका–२३ का किसान रामकुमार यादव विहान–साँझ आकाश हेरिरहेका छन्। दुई बिघा खेत जोतेर बीउ राखिसकेका उनी भन्छन्, “बादल लाग्छ, आशा लाग्छ, तर पानी पर्छ जस्तो लाग्दैन। यसपालि पनि धान रोपाइँको समय खेर जाने जस्तो छ।” यादवजस्तै हजारौं किसान अहिले उस्तै चिन्तामा छन्।
“हामी वर्षालाई हेरिरहेका छौं, योजना केही गर्न सक्दैनौं,” किसानहरूको साझा आवाज यतिखेर यही छ। सिरहामा रोपाइँको समय बित्दै जाँदा जमिन खाली छ, हरियाली छैन।
कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धानखेतीयोग्य जमिन छ, तर हालसम्म मात्र १८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। त्यो पनि बोरिङ्गको सहायताले गरिएको हो, उनले बताए। यदि चाँडै पर्याप्त पानी नपरे, बाँकी जमिन रोपाइँ बाहिर रहने सम्भावना उच्च रहेको विश्वकर्माको भनाइ छ।
तराईका किसानको प्रमुख चिन्ता यही हो — वर्षा भएपछि मात्रै खेतमा पस्ने। सिँचाइ नहुँदा वर्षाले साथ दिए मात्र खेती हुने र नदिए वर्ष गुम्ने। मौसम पूर्वानुमान, जल सञ्चय र सिँचाइ पूर्वाधारका मागहरू वर्षौंदेखि उठ्दै आएका छन्, तर कार्यान्वयन अझै अपुरो छ।
यो परिस्थितिले सिरहालगायत तराईका धान उत्पादनमा सीधा असर पार्नेछ। समयमै रोपाइँ नहुनु धानको उत्पादनमा गिरावट ल्याउने र त्यसको असर बजार मूल्यदेखि खाद्य सुरक्षासम्म पर्ने अनुमान गरिएको छ।