पौवादुङ्मा गाउँपालिकाद्वारा किसानलाई कृषि औजार वितरण, यान्त्रिक खेतीमा जोड
पौवादुङ्मा गाउँपालिकाद्वारा किसानलाई कृषि औजार वितरण, यान्त्रिक खेतीमा जोड
    • बेल संचार

    • १८ असार २०८२, बुधबार

भोजपुर ।

खेतीपातीमा यान्त्रिकरण र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले पौवादुङ्मा गाउँपालिकाले किसानलाई आधुनिक कृषि औजार वितरण गरेको छ। लागत साझेदारीको आधारमा रु २८ लाख बराबरका मिनी टिलर र घाँस काट्ने मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार, किसानको मागका आधारमा ४२ वटा मिनी टिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो। गाईपालनमा संलग्न किसानलाई प्राथमिकता दिइएको र उनीहरूलाई यन्त्रिक खेतीमा अभ्यस्त बनाउन उपकरण वितरण गरिएको उनले बताए।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले उत्पादनमुखी खेती प्रणालीतर्फ उन्मुख गराउने रणनीति अन्तर्गत यस्ता कार्यक्रम ल्याइएको बताइन्। “गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको छ। यस्ता नगदेबालीमा किसानलाई थप प्रोत्साहन दिन हामीले उपकरण वितरण गरेका हौं,” उनले भनिन्।

महिला उद्यमशिलता प्रवर्द्धनमा पनि गाउँपालिकाले चासो दिएको छ। उपाध्यक्ष राईका अनुसार महिला विकास बोर्डमार्फत महिलाहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालनमा छन्, जसले उनीहरूलाई कृषि र साना उद्योगतर्फ उन्मुख गराउनेछ।

पौवादुङ्मा गाउँपालिकाको यो पहलले कृषि उत्पादन, दक्षता र आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित