कर्णाली विकास बैंक घोटालाः पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ, हिनामिनाको दायरामा अझै विस्तार
कर्णाली विकास बैंक घोटालाः पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ, हिनामिनाको दायरामा अझै विस्तार
    • बेल संचार

    • १८ असार २०८२, बुधबार

काठमाडौं ।

कर्णाली विकास बैंकमा भएको बहु-अर्बको आर्थिक अपचलन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक पक्राउ पर्ने व्यक्ति बैंकका पूर्वअध्यक्ष तथा राजनीतिकर्मी पशुपति दयाल मिश्र हुन्, जसलाई बुधबार नेपालगञ्जबाट नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले जानकारी दिएको छ।

मिश्र २०६६ सालदेखि २०७५ सालसम्म बैंकको अध्यक्ष पदमा थिए । उनी मधेश आन्दोलनबाट उदाएका चर्चित नेता हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र समूहका तर्फबाट सूर्य चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए, तर पराजित भए। पछि उनी नेकपा (एमाले) प्रवेश गर्दै पार्टीका केन्द्रीय सदस्य बनेका थिए।

CIB का प्रवक्ता एसपी युवराज खड्काका अनुसार, मिश्रसँगै कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। यसअघि बैंकका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परिसकेका छन्।

घोटालाको अनुसन्धान नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अघि बढाइएको छ। पक्राउ परेका तीनै जनालाई बाँकेमै राखेर CIB को टोली अनुसन्धानमा जुटेको छ, जसको नेतृत्व डीएसपी दान थापाले गरिरहेका छन्।

कर्णाली विकास बैंकमा हालसम्म करिब २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको आशंकामा उजुरी परेको छ। बैंकको स्थापना २०६० सालमा भएको थियो। मुख्य अभियुक्तका रूपमा चिनिएका रायसँग करिब ८० प्रतिशत संस्थापक सेयर रहेको र उनी झन्डै १५ वर्षसम्म बैंकका कार्यकारी अध्यक्ष तथा सीईओ रहेका थिए।

बैंक सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले समेत व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। यो प्रकरणले निजी क्षेत्रको बैंकिङ प्रणालीमा देखिएको नियमनको कमजोरी र आन्तरिक पारदर्शिताको गम्भीर प्रश्न उठाएको विश्लेषणकर्ताहरू बताउँछन्।

साताकाे चर्चित
सम्बन्धित