काठमाडौं ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै छ महिनाको कैद सजाय सुनाएको छ।
गत वर्ष जुलाईमा सरकारविरोधी आन्दोलनको चपेटामा परेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि उनीमाथि यो पहिलो पटक सजाय सुनाइएको हो।
अदालतले यस मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई पनि दुई महिनाको कैद फैसला गरेको छ।
प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “शेख हसिनाको सजाय उनलाई आत्मसमर्पण गरेपछि वा पक्राउ परेपछि लागू हुनेछ।”
अभियोजक इस्लामले यसअघि अदालतमा शेख हसिनाविरुद्ध अवहेलनाको उजुरी दर्ता गराएका थिए। मुद्दा सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भाइरल भएको एक अडियो क्लिपमा हसिनाले “२२७ जनालाई मार्ने अनुमति प्राप्त भएको” टिप्पणी गरेकी थिइन्।
यद्यपि अभियोजन पक्षले उक्त अडियो कृत्रिम बौद्धिक प्रणाली (AI) बाट सिर्जना गरिएको नभएको स्पष्ट पारेको छ।
“सीआईडीको फरेन्सिक विश्लेषण र प्रमाणका आधारमा अदालतमा बुझाइएको प्रतिवेदनले देखाएको छ कि उक्त अभिव्यक्तिले मुद्दामा संलग्न साक्षी, अनुसन्धानकर्ताहरू तथा अन्य पक्षलाई भयभीत पार्ने उद्देश्य राखिएको छ,” इस्लामले भने।
उनका अनुसार, यस्तो व्यवहारले अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनअन्तर्गत अदालतको कार्यवाहीमा हस्तक्षेप पुर्याउने गम्भीर अपराध मानिन्छ।