पर्वत।
पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीबेणीमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला बर्खायामसँगै आएको बाढीका कारण डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको जलस्तर वृद्धि भएपछि शालिग्राम शिला मात्र होइन, वरपरका संरचनासमेत जलमग्न भएका छन्।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार जेठको अन्तिम सातादेखि नै शिला डुबानमा परेको हो। डुबानका कारण शिलामा जानेसमेतको बाटो, परिक्रमा स्थल र नजिकैको सत्तल पूर्णरूपमा डुबिसकेको छ। साथै शिलामा पूजापाठ गर्ने पुजारी तथा पण्डितहरू विस्थापित भएका छन् भने नियमित दर्शन गर्न आउने भक्तजन पनि निराश भएका छन्।
स्थानीय बासिन्दा तिलक पराजुलीका अनुसार कालीगण्डकी र सेतीखोलाको उच्च बहावले शालिग्राम क्षेत्रका संरचना क्षतविक्षत बनाएका छन्। शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि सुरक्षा जोखिमका कारण दर्शनमा रोक लगाइएको हो।
यस डुबानको प्रमुख कारणको रूपमा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधले नदी प्रवाहलाई प्रभावित पार्नु रहेको बताइएको छ। यसले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणी बजार क्षेत्र डुबानको उच्च जोखिममा पारेको छ।
गल्याङ नगरपालिका–५ का अध्यक्ष घनश्याम भट्टराईका अनुसार गत वर्ष साउनमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुर्याएको थियो—एक घर भत्किएको र आधा दर्जन विस्थापित भएका थिए। उनले नदीको बहाव गुल्मी क्षेत्रमा फर्काएर शिलाको दीर्घकालीन संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच, स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर शालिग्राम क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जोड दिएका छन्।