जुम्ला
अपांगता तथा टुहुरा बालबालिकाको संरक्षण, शिक्षार्जन र समुचित जीवनस्तरका लागि जुम्लाको सिँजा गाउँपालिका–३, धिताललिहीमा बालगृह तथा स्याहार केन्द्र स्थापना गरिएको छ।
अपांगता सशक्तीकरण केन्द्र जुम्लाको पहलमा स्थापना भएको उक्त केन्द्र अपांग पुनःस्थापना विकास केन्द्र जुम्ला, फुटाशिली आधारभूत विद्यालय धिताललिही र सिँजा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो।
केन्द्रको उद्घाटन सिँजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले गरेका हुन्। उद्घाटन कार्यक्रममा धिताललिही विद्यालय परिवारद्वारा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
अपांगता सशक्तीकरण केन्द्रका अध्यक्ष सत्यनारायण योगीका अनुसार टुहुरा, अपांग र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई निःशुल्क खानपान, आवास र शिक्षाको सुविधा प्रदान गरिनेछ।
“आमा–बुबा नभएका, शारीरिक रूपमा अशक्त र टाढाको विद्यालयमा जान नसक्ने बालबालिकालाई लक्षित गर्दै यो केन्द्र स्थापना गरिएको हो,” अध्यक्ष योगीले जानकारी दिए।
नेपाल पत्रकार महासंघ जुम्लाका पूर्वअध्यक्ष नेत्र शाहीले स्थानीय तहमै यस्तो सेवा प्रदान गरिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा स्थानीय सरकारले यसलाई निरन्तरता दिनुपर्ने बताए।
सिँजा गाउँपालिकाका अध्यक्ष धितालले बालगृह सञ्चालनका लागि आवश्यक भौतिक संरचना र बजेट व्यवस्थापनमा पालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार हाल १३ जना बालबालिकाले केन्द्रमा आश्रय पाएका छन् भने आगामी वर्ष थप बालबालिकालाई भर्ना लिने तयारी भइरहेको छ।
यस बालगृहमा सिँजाको वडा नं. १ देखि ६ सम्मका बालबालिकाले अध्ययन गर्नेछन्। उनीहरूको पठनपाठनका लागि फुटाशिली आधारभूत विद्यालयमा आवश्यक व्यवस्था मिलाइएको पालिकाले जानकारी दिएको छ।