काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ लाई यथाशीघ्र अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आयोजित बैठकमा मन्त्री पाण्डेले विधेयकलाई सरोकारवाला निकाय, समिति र विज्ञहरूको सुझावका आधारमा अगाडि बढाउने स्पष्ट पारे।
“आईकाओ लगायतका अन्तर्राष्ट्रिय सिफारिस र नेपालको आवश्यकता अनुसार नियामक र सेवा प्रदायक निकायलाई छुट्टाछुट्टै संरचनामा ल्याउन जरुरी छ,” उनले भने। मन्त्री पाण्डेका अनुसार हवाई सुरक्षासम्बन्धी चुनौती अझै कायमै रहेको हुँदा विधेयक विभाजनमा कुनै अन्योल छैन।
विधेयक तयार पार्ने क्रममा सम्बन्धित निकाय र विज्ञसँग पटक–पटक परामर्श भएको जानकारी दिँदै उनले स्वायत्त नियामक र सेवा प्रदायक निकायको स्थापना हवाई सुरक्षाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रतिनिधिसभाका ७५ जना सांसदहरूले विधेयकमाथि गहिरो छलफल गरिसकेको उल्लेख गर्दै उनले अब संशोधनका पक्षमा पनि गम्भीर छलफल गरेर निष्कर्षमा पुगिने आशा व्यक्त गरे।
सोही बैठकमा समितिका सभापति राजकिशोर यादवले पनि विधेयकको संवेदनशीलता औंल्याउँदै सांसदहरूलाई गम्भीर छलफलमा सहभागी भई विधेयक पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरे।