काठमाडौं ।
यो साताको सेयर बजारले सकारात्मक प्रवृत्ति देखाउँदै पाँचै दिन बढेको छ। बजारमा कुल ४.१६ प्रतिशत अर्थात् १०८ अंकको वृद्धि भएपछि नेप्से परिसूचक २७०३.२० मा पुगेर बन्द भएको छ। यो वैशाख ७ यताकै उच्च विन्दु हो।
गत साता नेप्से २५९५ अंकमा बन्द भएको थियो। यस साताको वृद्धि क्रमशः आइतबार २६.५३, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंक रह्यो।
वर्षको अन्तिम महिना असारमा सामान्यतः बजार ओरालो लाग्ने प्रवृत्ति देखिँदै आएको छ, तर यसपालि भने असारको मध्यदेखि नै बजारले वृद्धिको लय समातेको विश्लेषकहरूले जनाएका छन्। बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले बजारमा गिरावट आउने आशंका भइरहेका बेला बजार लगातार बढ्नुले लगानीकर्ताहरूमा नयाँ उत्साह भरिएको छ।
बजारसँगै कारोबार रकम पनि उल्लेख्य बढेको देखिन्छ। आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा बिहीबारसम्म आइपुग्दा कारोबार रकम ९ अर्ब ६४ करोड पुगेको छ। बुधबार ९ अर्ब ७४ करोडसहित साताको उच्च कारोबार भएको दिन रह्यो।
लगातारको बृद्धिसँगै बजारले २७ सय अंक माथिको मनोवैज्ञानिक सीमा पार गरेको छ, जसले लगानीकर्तामा विश्वास पुनः फर्किएको संकेत दिन्छ।