जुम्ला ।
सिँजा गाउँपालिका–१ स्थित धाँपा स्वास्थ्य चौकीमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३२१ जना बिरामीले विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य सेवा लिएका छन्।
सिँजा गाउँपालिकाको आयोजनामा तथा जनस्वास्थ्य कार्यालय जुम्लाको समन्वय र सहयोगमा सम्पन्न उक्त शिविरको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल रहनुभएको थियो।
स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाका अनुसार शिविरमा महिला १८६ जना र पुरुष १३५ जना गरी कुल ३२१ जनाले सेवा लिएका थिए। स्त्रीरोग सम्बन्धी सेवा अन्तर्गत १३६ जनाको परीक्षण गरिएको थियो। जसमा VIA परीक्षण ५५ जनामा गरिएको थियो, तीमध्ये ८ जनामा VIA पोजेटिभ देखिएको र ८ जनालाई थप उपचारका लागि रिफर गरिएको जानकारी दिइएको छ। साथै १४ जनामा रिङ पेसरी राखिएको थियो।
यस्तै, हाडजोर्नीसम्बन्धी सेवा १९५ जनाले, बालरोग ४५ जनाले, सामान्य स्वास्थ्य परीक्षण सेवा १८० जनाले र परामर्श सेवा २६ जना किशोर–किशोरीहरूले लिएका थिए।
अध्यक्ष धितालले स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले सिँजा गाउँपालिकामा विभिन्न समयमा यस किसिमका विशेष शिविरहरू सञ्चालन हुँदै आएको बताउँदै भविष्यमा पनि बिरामीको आवश्यकतालाई ध्यानमा राखी अझ प्रभावकारी सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।
शिविरमा पाठेघरसम्बन्धी सेवा प्राप्त गर्न पाएकोमा सिँजाका महिलाहरू उत्साहित देखिएका थिए। घरनजिकै विशेषज्ञबाट सेवा लिन पाउनु उनीहरूका लागि सहज र राहतदायी भएको उनीहरूले बताएका छन्।
यो समाचारमा उल्लेखित स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका स्थानीयवासीका लागि महत्वपूर्ण राहत प्रदान गरेको बताइएको छ।