झापामा वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभाव थप चुनौती
झापामा वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभाव थप चुनौती
    • बेल संचार

    • २१ असार २०८२, शनिबार

झापा।

असार महिनाको तेस्रो साता पुग्दासमेत पर्याप्त वर्षा नहुँदा झापामा बर्खे धानको रोपाइँ प्रभावित भएको छ। पानीको अभावका कारण खेत सुक्खा छन् भने वैकल्पिक सिचाइँ नभएका कृषक समस्यामा परेका छन्।

हल्दिबारी–६ का किसान रतनकुमार भुलेल भन्छन्, “गएको वर्ष अहिलेको समयमा रोपाइँ सक्किएको थियो, खसिया पनि सारिसकेको थिएँ। तर अहिले डेढ बिघामा खेत बाँझै छन्।” उनीजस्तै धेरै किसान सिचाइँको विकल्प नहुँदा रोपाइँ गर्न सकेका छैनन्, जसका कारण बीउ पहेँलिन थालेको छ।

गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रगति पनि कम देखिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष असारको यो समयसम्म करिब २५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने अहिले करिब १४ प्रतिशत मात्र भएको छ।

कृषकहरूले मोटर पम्पमार्फत पानी तान्न थालेपछि रोपाइँको गति केही बढ्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ, मलको अभावले थप चुनौती थपेको छ। केन्द्रका प्रमुख सागर विष्टका अनुसार, झापामा बर्खे धान खेतीका लागि करिब १२ हजार मेट्रिक टन डिएपी र १४ हजार मेट्रिक टन युरिया आवश्यक पर्छ। तर मागअनुसार आपूर्ति हुन सकेको छैन। “गएको वर्ष मात्र १० प्रतिशत मल आपूर्ति भएको थियो,” उनले जानकारी दिए।

धान खेतीको क्षेत्रफल घट्दै गएको भए पनि झापामा धानको उत्पादकत्व भने निरन्तर वृद्धि हुँदै आएको छ। आर्थिक वर्ष २०७८/७९ मा प्रति हेक्टर उत्पादकत्व ४.८५ मेट्रिक टन थियो भने २०७९/८० मा ४.८९ र गत वर्ष ५.०५ मेट्रिक टन पुगेको छ।

जिल्लामा गौरादह नगरपालिकामा सबैभन्दा धेरै र दमक नगरपालिकामा सबैभन्दा कम धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। गौरीगञ्ज र कचनकवल गाउँपालिकाहरूमा पनि उल्लेख्य धान उत्पादन हुने गरेको छ।

साताकाे चर्चित
सम्बन्धित