काठमाडौं।
नेपालमा लगानीका सम्भावना र अवसरहरूबारे जानकारी लिन मलेसियाबाट आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरेको छ।
प्याराडाइज्ड ग्रुप कम्पनी मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय टोलीले नेपालमा नयाँ व्यावसायिक उद्यमहरू स्थापना गर्ने लक्ष्यसहित भ्रमणमा आएको जनाएको छ। उनीहरूले नेपाल–मलेसिया सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ नेपालमा लगानीका अवसरहरूको अध्ययन गर्न आएको जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता समृद्ध नेपाल निर्माणमा केन्द्रित रहेको भन्दै त्यसका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न कानुनी र संरचनात्मक सुधारहरू भइरहेका बताएका थिए। उनले भावी सुधारमा पनि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए।
भेटका क्रममा प्रतिनिधिमण्डलले नेपालमा प्लास्टिक फोहोर प्रशोधन, सूचना प्रविधि पार्क निर्माण, पर्यटन विकास लगायतका क्षेत्रमा लगानीको चासो देखाएको थियो। साथै, पर्यटन, कृषि, जनशक्ति, कपडा र अन्य विविध क्षेत्रहरूमा पनि लगानीका सम्भावनाबारे छलफल गरिएको थियो।
तीनदिने भ्रमणमा रहेको उक्त टोली नेपाली दूतावास मलेसियाको सहकार्यमा काठमाडौँ आएको हो। भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो।