काठमाडौं।
एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। जितको आधारशिला जोय थापा र अभय यादवको संयमित साझेदारीले राखेका थिए। जोयले अविजित २४ रन बनाउँदा, अभयले अन्त्यमा विजयी छक्का प्रहार गर्दै टोलीलाई लक्ष्यसम्म पुर्याए। शिवांश बजगाईंले पनि २० रनको योगदान दिए।
नेपालको सुरुआत राम्रो भए पनि एक चरणमा ४०–१ को अवस्थामा रहेको टोलीले एकपछि अर्को गरी विकेट गुमाउँदा ९२–८ को संकटमा पुगेको थियो। तर जोय र अभयको संयमता तथा आत्मविश्वासी खेलले नेपाललाई जित दिलायो।
बलिङतर्फ सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिए, तर उनको प्रदर्शन टोलीको जितका लागि पर्याप्त हुन सकेन। युवान पाण्डेले २ तथा आकाश तेजा र वेदांश गुप्ताले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। रोहन अस्टिनले ९० बल खेलेर २३ रन बनाए भने रिहान नाइकले १५ रनको योगदान दिए। नेपालको बलिङ आक्रमण प्रभावशाली देखिएको थियो – अभय यादव र सुशिल बहादुर रावलले समान ३–३ विकेट लिए भने शुभम खनालले २ र कप्तान बिपिन प्रसाद शर्माले १ विकेट हात पारे।
नेपाल प्रतियोगिता भरि अपराजित रह्यो र समूह चरणमा पनि सिंगापुरलाई हराएको थियो। यसअघि पनि नेपालले २०२३ को संस्करण जितेको थियो भने २०१७ र २०१९ मा आयोजित यस्तै प्रतियोगितामा पनि लगातार उपाधि जितेको इतिहास छ।