गोठिज्युलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा , जग्गा विवादले निर्माण कार्य अलपत्र
गोठिज्युलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा , जग्गा विवादले निर्माण कार्य अलपत्र
    • बेल संचार

    • ९ भाद्र २०८२, सोमबार

जुम्ला ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगडी सडक खण्डको कनकासुन्दरी गाउँपालिकास्थित महेन्द्र मल्ली खोलामा पुल नहुँदा सवारीसाधनलाई खोलो तर्न निकै कठिनाइ भएको छ। विशेषगरी साउन–भदौ महिनामा वर्षा बढेसँगै खोलामा पानी उर्लेर गाडी पार गर्नै मुस्किल हुने गरेको छ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा नै १० वटा पुल निर्माणको ठेक्का भएको थियो। हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोड रुपैयाँमा ठेक्का पाई पाँचवटा पुल मुगुमा र पाँचवटा पुल जुम्लाको सिँजा क्षेत्रमा बनाउनुपर्ने सम्झौता भएको थियो। तीमध्ये हिमाको बाजागाडा, सिजाको विष्टवाडा र प्याकुरेवाडाका पुल बनेर सकिएका छन्। तर, कनकासुन्दरीको गोठिज्युला खोलामा जग्गा विवादका कारण पुल निर्माण सुरु हुन सकेको छैन।

चौधरीका अनुसार पुल बन्ने स्थान वरिपरिको साँघुरो क्षेत्र र घरधनीको असहमतिको कारण समस्या उत्पन्न भएको हो। “२० मिटर लामो पुल निर्माण गर्दा केही घर भत्काउनु पर्ने भएकाले जग्गाधनीले जमिन दिन नमानेपछि काम रोकिएको हो,” उनले बताए। यसअघि दुई पटक गाउँपालिकालाई सहजीकरणका लागि पत्राचार गरिएको भए पनि ठोस पहल नहुँदा पुल अझै अधुरो छ।

तर वडा नम्बर ६ का अध्यक्ष प्रेम पछाईले विवाद समाधान भइसकेको र अब पुल बन्ने वातावरण बनेको जानकारी दिए। वडा नम्बर ५ का अध्यक्ष विष्णु वडुवालले भने पुलको लम्बाइ घटाएर १५ मिटरमै सीमित गर्ने प्रस्ताव गाउँपालिकाले गरेको बताए।

यसबीचमा चालक र स्थानीय भने वर्षेनी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। “खोलामा पानी बढ्दा गाडी बग्ने खतरा हुन्छ, कतिपय बेला पाटपुर्जा फुटेर गाडी खोलामै अड्किन्छ,” चालक रवि बुढाले अनुभव सुनाए। स्थानीयले पनि खोलाले बाइकदेखि साना गाडी नै बगाउने घटना हुने गरेको बताए।

२०७८ साल फागुन ९ गते सम्झौता भएको पुल २०८२ साउन मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि विवाद र ढिलाइका कारण अब म्याद थप्नुपर्ने अवस्था आएको सडक डिभिजनको भनाइ छ। निर्माण कम्पनीले आठ पुलमा करिब ७० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै कठिन भूगोल, बजेट र जनशक्ति अभावबीच पनि कार्य अघि बढाइरहेको बताएको छ।

बालुवा खोलासँगै गोठिज्युला पुल निर्माण नहुनु स्थानीयका लागि अझै चुनौती बनेको छ। बर्खामा आवतजावत ठप्प हुने समस्या, जोखिमपूर्ण यात्रा र पर्यटकले भोग्नुपर्ने कष्टले नागरिकलाई चर्को दबाब सिर्जना गरेको छ। उनीहरूको माग छ – सम्बन्धित निकायले निर्णायक पहल गरेर जग्गा विवाद चाँडै टुंग्याई पुल निर्माण अघि बढाइयोस्।

साताकाे चर्चित
सम्बन्धित