जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसको श्रद्धाञ्जली, मंगलबार सबै शाखा बन्द
जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसको श्रद्धाञ्जली, मंगलबार सबै शाखा बन्द
    • बेल संचार

    • २४ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा भएको मृत्यु र घाइतेबारे गहिरो दुःख व्यक्त गर्दै फेसियल हाउसले मंगलबार एकदिनका लागि आफ्ना सम्पूर्ण शाखा बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै ११ वटै शाखा बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “पोसाकमै रहेका विद्यार्थीलाई सरकारले अपराधीजस्तै व्यवहार गरेको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”

फेसियल हाउसले अकल्पनीय यो घटनालाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथिको आघातको रूपमा चित्रण गर्दै शान्तिपूर्ण आन्दोलनप्रति सरकारले देखाएको कठोर व्यवहारप्रति असन्तुष्टि जनाएको छ।

हालसम्मको तथ्याङ्कअनुसार आन्दोलनमा २० जना जेनजी आन्दोलनकारीको मृत्यु भइसकेको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये कैयौँ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। राजधानी काठमाडौंसहित विभिन्न सहरमा जारी आन्दोलन अझै तिव्र बन्दै गएको छ।

फेसियल हाउसले आफ्नो व्यापारिक गतिविधि स्थगित गर्ने निर्णयलाई केवल श्रद्धाञ्जलीका लागि मात्र नभई, सामाजिक न्याय र मानव अधिकारका पक्षमा सहानुभूति व्यक्त गर्ने कदमका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार समाजका विविध पक्षहरूलाई आन्दोलित बनाएको घटनाप्रति मौन बस्नुभन्दा पीडित पक्षसँग ऐक्यबद्धता जनाउनु नै उचित ठानेर शाखा बन्द गर्ने निर्णय गरिएको हो।

जेनजी आन्दोलनले देशव्यापी रूपमा विद्यार्थी र युवा समुदायलाई सडकमा उतारेको छ। आन्दोलनरतहरूले शान्तिपूर्ण विरोधका क्रममा सरकारले अति प्रयोग गरेको दमनलाई आन्दोलन चर्कनुको मुख्य कारण बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित