काठमाडौँ ।
भायानेटको प्रमुख डाटा सेन्टरमा आगलागी हुँदा इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध भएको छ।
कम्पनीका अनुसार, मंगलबार साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको डाटा सेन्टरमा क्षति पुगेको हो। आंशिक रूपमा ब्याकअप डाटा सेन्टरबाट सेवा सञ्चालन भए पनि देशभरका सबै ग्राहकलाई पर्याप्त सेवा दिन सकिएन।
आगो नियन्त्रणपछि बुधबार दिउँसो प्राविधिक टोलीले आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर निकालेर अर्को सुरक्षित डाटा सेन्टरमा स्थापना गरेको छ। भायानेटले बिहीबार साँझसम्म पूर्ण क्षमतामा इन्टरनेट सेवा सञ्चालन गर्ने र भाया टीभी सेवा पनि चाँडै पुनः सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिएको छ। कम्पनीले उपभोक्ताको धैर्य र विश्वासप्रति आभार व्यक्त गरेको छ।