गोरखा ।
नवरात्रको पहिलो दिन आज गोरखा दरबार परिसरका विभिन्न धार्मिक स्थलहरूमा परम्परागत विधिअनुसार जमरा राखिएको छ। घटस्थापनाको अवसरमा मूल दरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार विहानै कैलास कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृहमा स्थापित गरी पानीको घडा राखेपछि जमरा छर्ने कार्य गरिएको हो। यसअघि कालिका मन्दिरको पटाङगिनीमा देवीपूजामा प्रयोग हुने भाँडावर्तन धुने र शैलपुत्री पूजाका लागि आवश्यक सामग्री तयार गर्ने परम्परा पालना गरिएको थियो।
गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले, गोरखनाथ मन्दिरमा चार माना, उपल्लो तथा तल्लो कोटमा एक–एक मानाका दरले जौँको जमरा राखिएको मूलपूजारीले बताए।
स्थानीय विश्वासअनुसार गोरखाकाली मन्दिरमा जमरा राखिएपछि मात्र देशभरका घरघरमा जमरा राख्ने परम्परा सुरु हुन्छ। प्रतिपदादेखि कालिका मन्दिरमा दैनिक बलि दिने चलन पनि रहेको छ।
यसैगरी, गोरखाको अर्को प्रमुख धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानै शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए। धार्मिक विश्वासअनुसार घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रयोग गर्दा विशेष फल प्राप्त हुने मानिन्छ।