लामो दूरी तथा काठमाडौं उपत्यकातर्फको सवारी सञ्चालन तीन दिनका लागि स्थगित
लामो दूरी तथा काठमाडौं उपत्यकातर्फको सवारी सञ्चालन तीन दिनका लागि स्थगित
    • बेल संचार

    • १८ आश्विन २०८२, शनिबार

काठमाडौं ।

आगामी तीन दिनका लागि लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन सञ्चालन रोकिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तीन दिनका लागि बन्द रहनेछन्। सम्भावित बाढी, पहिरो र डुबान जस्ता जोखिम कम गर्न सवारी आवागमन नियन्त्रण गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा भनिएको छ, “असोज १८ देखि २० सम्म पूर्वको कोशीदेखि पश्चिमको लुम्बिनी प्रदेशसम्म मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने, कतिपय ठाउँमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। त्यसैले यात्रु र सवारी साधनलाई हुने सम्भावित जोखिम न्यूनीकरण गर्न आवतजावत रोकिएको हो।”

त्यस क्रममा प्राधिकरणले अत्यावश्यक सेवा बाहेक कुनै पनि सवारी नचलाउन आग्रह गरेको छ। साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्णय कार्यान्वयन गर्न अनुगमन र निगरानी बढाउन निर्देशन दिइएको छ।

साताकाे चर्चित
सम्बन्धित