काठमाडौं ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गर्न लागेको मोटरसाइकल र्यालीलाई प्रशासनले अनुमति नदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै पूर्व स्वीकृति विना कुनै पनि समूह वा संगठनले र्याली, जुलुस, धर्ना वा सभा गर्न नपाउने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भनिएको छ, “असोज २५ गते शनिबार काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकलसहित सभा गर्ने जानकारी प्राप्त भएको छ । तर, भदौ २३ गतेको जेनजेड आन्दोलनपछि भएको तोडफोड, आगजनी र सम्पत्तिमा पुगेको क्षति सबैलाई विदितै छ । यस्तो अवस्थामा फेरि र्याली वा प्रदर्शन हुँदा शान्ति–सुरक्षामा चुनौती बढ्न सक्ने भएकाले अनुमति नदिने निर्णय गरिएको हो ।”
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ खण्ड (क) तथा प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्व स्वीकृति विना कुनै कार्यक्रम नगर्न वा नगराउन प्रशासनले सबैलाई आग्रह गरेको छ ।