जुम्ला ।
बाल्यकालदेखि नै गाडीमा रमाउँदै हुर्किएका गणेश रावतको जीवन पनि अन्ततः गाडीमै समाप्त भएको छ । बुधबार साँझ करिब ८:३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक सानाे गाडी (क.प्र.०२-००१ ख ११८०) मा सिटमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२२ वर्षीय रावत हिमा गाउँपालिका–१ आचार्यलीका स्थायी बासिन्दा हुन् । चालक मुगु छायानाथ रारा नगरपालिका–२ का ३६ वर्षीय वसन्त तिरुवा रहेका छन् ।
घटनाको जानकारी पाउँदै प्रहरीको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, जुम्ला लगिएको थियो । शुक्रबार रावतको अन्त्येष्टि जन्मथलो आचार्यलीमै गरिएको वुवा नाताका कालीबहादुर रावतले बताएका छन् ।
गणेश सानै उमेरदेखि गाडीमा यात्रा गर्न रुचाउँथे । कहिले सुर्खेत, कहिले नेपालगन्ज, कहिले काठमाडौं त कहिले मुगु–उनको जीवन यात्रा सधैं गाडीमै बित्थ्यो । उनलाई कहिल्यै कसैले भाडा लिनुपर्ने हुन्थेन । गाडीमै रमाउने गणेशको जीवन पनि अन्ततः त्यही गाडीमै टुंगिएको हो ।
उनको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली सन्देशसँगै उनको जीवनयात्रा समेटिएका भिडियोहरू युट्युब, फेसबुक र टिकटकमा व्यापक रूपमा भाइरल भएका छन् ।