काठमाडौं,
नेपालस्थित गणतन्त्र कोरियाको दूतावासले जेनजी आन्दोलनका क्रममा घाइते र प्रभावितहरूका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको छ। दूतावासले शनिबार काठमाडौँको ठमेलमा एक शोकसभा आयोजना गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइते भएका व्यक्तिप्रति गहिरो संवेदना प्रकट गरेको हो।
कार्यक्रममा नेपालमा रहेका कोरियाली समुदाय, कोइका प्रतिनिधि, ईपीएस व्यवसायी, र कोरियाली उद्यमीहरूको उपस्थिती रहेको थियो। सहभागीहरूले मानवीय सहयोगस्वरूप घाइतेहरूको उपचारमा सहयोग पुग्ने गरी रकम संकलन अभियानको सुरुवात गरेका हुन्।
दूतावासका अनुसार, समुदायको नेतृत्वमा सुरु गरिएको अभियानमा कोरियाली खानाका परिकार उपलब्ध गराउँदै सहयोगका लागि आम नागरिकलाई सहभागी हुन आह्वान गरिएको छ। छोटो समयमै अभियानमा उल्लेख्य रकम संकलन भएको दूतावासले जनाएको छ।
कार्यक्रममा बोल्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थे यङले जेनजी आन्दोलनमा घाइते र प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै नेपाल–कोरिया सम्बन्ध सधैं मित्रतापूर्ण रहेको बताए। उनले विपद् र कठिन परिस्थितिमा पनि कोरियाली जनता सदैव नेपालका साथमा रहने प्रतिबद्धता जनाए।
राजदूत पार्कले आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणमा समेत कोरियाली सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। साथै, उनले प्रजातान्त्रिक अभ्यास र नागरिक अधिकारको संरक्षणमा नेपाली जनताको भूमिकाको प्रशंसा गरे।
शोकसभामा कोरियाली दूतावासका कर्मचारी, नेपालमा रहेका कोरियाली नागरिक, व्यवसायी र सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।