काठमाडौं ।
‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले हालैका दिनमा आफूमाथि लागेका विभिन्न आरोपहरूलाई असत्य र आधारहीन बताउँदै तीव्र आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रमाणबिना बदनाम गर्ने र भ्रम फैलाउनेहरूविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।
गुरुङका अनुसार पछिल्लो समय केही व्यक्तिहरू र समूहहरूले आफू र आफ्ना सहकर्मीहरूलाई ‘साइबर सेना’, ‘टिओबी’, र ‘फ्री टिबेट’ जस्ता नामसँग जोडेर जनमत भ्रमित गर्ने प्रयास गरेका छन्। उनले सो समूहहरूका दाबीहरूलाई पूर्ण रूपमा निराधार ठहर गर्दै भने, “यदि म संलग्न भएको ठोस प्रमाण छ भने देखाउनुपर्छ, नभए त्यस्ता दाबीहरू कानुनी कारबाहीको दायरामा आउनेछन्।”
नेता गुरुङले नेपालमा विद्यमान ‘खुट्टा तान्ने प्रवृत्ति’प्रति पनि दुःख व्यक्त गरे। उनले भने, “हाम्रो समाजमा अरूको प्रगति देख्न नसक्ने र बदनाम गर्न खोज्ने सोच अझै हटेको छैन।”
उनले ‘हामी नेपाल’ अभियानमा आर्थिक पारदर्शिता नदेखिएको भन्ने टिप्पणीको प्रतिवाद गर्दै सबै वित्तीय विवरण सार्वजनिक गर्ने घोषणा गरे। साथै, नागरिकहरूलाई सत्य र असत्य छुट्याउन सक्ने चेतनशील बन्न आग्रह गरे।
गुरुङले अबदेखि झूटो प्रचार र अभियानमा घुसपैठ सह्य नहुने चेतावनी दिँदै भने, “हामीले हाम्रो आईटी टिममार्फत फेक न्युज फैलाउने जोसुकैको प्रमाण सङ्कलन गर्छौं र त्यसबारेमा कानुनी रूपमा अघि बढ्छौं।”
उनका अनुसार, केही राजनीतिक व्यक्तिहरूले समेत आन्दोलनमा हस्तक्षेप गरेर शान्तिपूर्ण प्रयास भङ्ग गर्न खोजेका छन्। गुरुङले यस्तो गतिविधिमा संलग्न रहेका व्यक्तिहरूविरुद्ध भोलिदेखि नै औपचारिक उजुरी दर्ता गरिने बताए।