काठमाडौं ।
नेकपा (एमाले)को सचिवालय बैठक आज आइतबार बस्दैछ। हिजो शनिबारका लागि तय गरिएको बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि सारिएको हो। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
अध्यक्ष ओलीलाई हाल भाइरल रुघा–खोकीको समस्या देखिएको बताइएको छ।
हालैको ‘जेनजी आन्दोलन’ पछि एमाले भित्र पनि नेतृत्वमाथि असन्तुष्टि र दबाब बढ्दै गएको देखिएको छ। शुक्रबारको आन्तरिक छलफलमा केही नेताहरूले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका थिए भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः सक्रिय बनाउन वातावरण सिर्जना गर्न सुझाव दिएका थिए।
स्रोतहरूका अनुसार १८ सदस्यीय सचिवालयमा अहिले ओली पक्षमा तीन–चार जना मात्र देखिएका छन्। सचिवालयमा अल्पमतमा परेपछि ओली थप दबाबमा रहेका बुझिएको छ।
एमालेले यही असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ, जसमा पार्टीको आगामी रणनीति र आन्तरिक विवादबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको छ।