काठमाडौं ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ।
समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको शुभ समय तय गरिएको हो। उनले भने, “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै बाधा छैन।”
यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दानको सुरुवात हुने समितिले जनाएको छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती एकैदिन पर्छ भने कात्तिक ३ गते सोमबार नरक चतुर्दशीसहित कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाइनेछ। त्यस दिन साँझ दीपमालिका पनि गरिनेछ।
समितिका अनुसार कात्तिक ४ गते मंगलबार बिहान औँसी तिथिमा स्नान–दान गर्नुपर्नेछ भने सोही दिन दिउँसो ४:२९ बजेसम्म औँसी रहनेछ। गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने उल्लेख छ। आत्म पूजा विशेषगरी नेवार समुदायमा प्रचलित परम्परा हो।
समितिले स्वीकृति दिएका तीन पञ्चाङ्गका अनुसार यस वर्षको नेपाल संवत् ११४६ पनि कात्तिक ५ गतेदेखि सुरु हुनेछ। नेवार समुदायमा यसै दिन नयाँ वर्षका रूपमा मनाउने चलन छ।
शास्त्रीय विधिअनुसार भाइपूजा (नेवारी भाषामा किजापूजा) कात्तिक ६ गते बिहीबार मनाइनेछ। मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म द्वितीया तिथि रहने भएकाले शास्त्रअनुसार मध्याह्नकालमा भाइटीका लगाउन उपयुक्त समय हुने बताइएको छ।
समितिका अनुसार ‘भ्रातृपूजा’ भन्ने शब्दले दाजुभाइ दुवैलाई जनाउँछ। त्यसैले भाइटीका ज्येष्ठताको क्रमअनुसार दाजुभाइ सबैलाई लगाउन सकिने शास्त्रीय मान्यता रहेको छ।
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरी यमयातनाबाट मुक्ति पाउने विश्वास रहिआएको छ। काग र कुकुरलाई यमदूतको प्रतीक मानी मिठा परिकार खुवाउने वैदिक परम्परा पनि यसैसँग सम्बन्धित छ।