वसुधैव कुटुम्बकम्’ र राष्ट्रवादको श्राप: संसारले आफ्नै परिवार किन बिर्सियो ?
वसुधैव कुटुम्बकम्’ र राष्ट्रवादको श्राप: संसारले आफ्नै परिवार किन बिर्सियो ?
    • सुनील बाबु पन्त

    • १० कार्तिक २०८२, सोमबार
वसुधैव कुटुम्बकम्” — सारा संसार एक परिवार हो, भनिन्छ।
तर यही वाक्य दोहोर्‍याउने मुखहरूले नै सीमाना कोर्छन्, राहदानी माग्छन्, र ‘हामी’ र ‘उनीहरू’ बीचको विभाजनलाई पवित्र ठान्छन्। उनीहरू विश्वलाई परिवार भन्छन्, तर सीमाको अर्काेतर्फ जन्मिएका मानिसलाई त्यो परिवारको सदस्य मान्दैनन्। मानवता बोल्छन्, तर असमानतामा बस्छन्।
यही विरोधाभास आधुनिक राष्ट्रवादको मूलमा रहेको विष हो — जसले मानिसलाई मानिससँगै पराई बनायो।
आधुनिक राष्ट्रवादको आविष्कार
फ्रान्सेली क्रान्तिपूर्व नै भूभाग वा समुदायप्रतिको सामूहिक निष्ठा अस्तित्वमा थियो। प्राचीन ग्रीसका नगर–राज्यहरू, चिनियाँ साम्राज्य, वा पृथ्वीनारायण शाहको नेपाल — यी सबै कुनै न कुनै रूपमा “राष्ट्र” वा “राज्य” थिए।
तर अठारौँ शताब्दीको अन्त्यतिर एउटा नयाँ विचार जन्मियो — आधुनिक राष्ट्रवाद।
पहिले निष्ठा कुनै राजा, धर्म, वा वंशप्रति हुन्थ्यो। तर सन् १७८९ को फ्रान्सेली क्रान्तिले पहिलो पटक सार्वभौमसत्ता “जनतामा” निहित भएको घोषणा गर्‍यो। प्रजा नागरिकमा रूपान्तरित भयो; मुकुटको सट्टा झण्डा आयो। यसरी राष्ट्र–राज्यको जन्म भयो — एउटा निश्चित भूभागमा बस्ने जनतालाई एकरूप “राष्ट्र”को रूपमा कल्पना गर्ने राजनीतिक संरचना।
यो नयाँ राष्ट्रवाद भावनात्मक, वैचारिक र प्रशासनिक सबै रूपमा उपस्थित थियो। नागरिकहरूलाई एउटै रगत, एउटै इतिहास र एउटै नियतिको भाग बनाउने प्रयास गरियो। त्यसका लागि विद्यालय, जनगणना, राष्ट्रिय गीत, र राहदानी जस्ता उपकरण सिर्जना गरिए — जसले “को” नागरिक हो भन्ने कल्पना संस्थागत गर्‍यो।
युरोपमा यसले इटाली र जर्मनी जस्ता देशहरूलाई एक बनायो, तर उपनिवेशहरूमा यसले सीमाना कोरेर समुदायहरूलाई टुक्रायो — जसका घाउ आज पनि रसाइरहेका छन्।
साम्यवादको दृष्टिमा राष्ट्रवाद
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले राष्ट्रवादलाई सत्ताधारी वर्गले सिर्जना गरेको भ्रमको रूपमा व्याख्या गरे। कम्युनिस्ट म्यानिफेस्टो (१८४८) मा उनीहरूले लेखे:
“कामदार वर्गको लागि देश हुँदैन।” (अर्थात्, कामदारहरूले देशहरूमा विश्वास गर्दैनन् — उनीहरूको ऐक्य वर्गीय हुन्छ, राष्ट्रिय होइन।)
तिनीहरूका लागि राष्ट्रवाद शासकहरूले सिर्जना गरेको भावनात्मक जाल थियो — जसले कामदार वर्गलाई झण्डा र सीमामा बाँडेर उनीहरूको साझा शोषण ढाकछोप गर्थ्यो। पूँजीवादले बजारको सुरक्षा र युद्धको औचित्यका लागि राष्ट्रवादको प्रयोग गर्‍यो।
तर साम्यवादले सीमाविहीन ऐक्यताको कल्पना गर्‍यो। “Workers of the world, unite!” भन्ने नारा यही भावना थियो। लेनिनले कतिपय राष्ट्रवादी–मुक्ति आन्दोलनलाई अस्थायी रूपमा समर्थन गरे, तर अन्ततः लक्ष्य थियो — विश्व–समाजवाद।
मार्क्सवादी दृष्टिमा राष्ट्रवाद कुनै नियति होइन; एउटा संक्रमणकालीन भ्रम हो।
बौद्ध र हिन्दू दृष्टिमा ‘अस्तित्वको परिवार’
आधुनिक राष्ट्रवादभन्दा धेरै अघि, बौद्ध र वैदिक चिन्तनले सीमाविहीन संसारको कल्पना गरिसकेका थिए — यद्यपि भू–राजनीतिक होइन, नैतिक र आध्यात्मिक अर्थमा।
गौतम बुद्धले जात र वंशको विभाजन अस्वीकार गरे। अस्सलायन सुत्त मा उनले भने — मानिस उच्च वा नीच जन्मका कारण होइन, कर्मका कारण हुन्छ। उनका संघहरू सबै वर्ग, क्षेत्र र जातका मानिसका लागि खुलेका थिए।
बौद्ध धर्मका अनुसार करुणा राष्ट्रिय नभई विश्वव्यापी थियो।
त्यसरी नै महाउपनिषद् मा भनिएको छ —
“यो मेरो आफन्त हो, त्यो पराई — भन्ने सानो सोच भएका हुन्। जसको चिन्तन विशाल छ, उसका लागि सारा संसार परिवार हो।”
यो केवल कवितामय कल्पना थिएन; यो राजनीतिक दर्शन थियो — सबै प्राणीभित्र एउटै आत्मा बस्छ भन्ने विचार। संसार एउटा परिवार हो, न कि शत्रु र मित्रको नक्शा।
तर बौद्ध र वैदिक दुवै परम्परालाई पछि आधुनिक राष्ट्र–राज्यहरूले ‘राष्ट्रिय धर्म’को रूपमा कब्जा गरे — जसले सहिष्णु दर्शनलाई बहिष्करणको हतियार बनायो। ‘हिन्दू राष्ट्र’, ‘बौद्ध राष्ट्र’ भन्ने शब्दहरूले धर्मको आत्मा होइन, राजनीतिलाई सेवा गरे।
राष्ट्रवादको नैतिक संकट
राष्ट्रवादको मूल शक्ति हो — डर। ‘अरू’को डर। यसले सिकाउँछ — आफ्नो पहिचान अरूको अपमानमा टेकेर बनाइन्छ। यसले सीमाको नाममा युद्धलाई गौरव ठान्छ, र प्रवासीलाई खतरा ठान्छ।
नेपाल, भारत वा अन्यत्र पनि आजको राष्ट्रवाद देशप्रेम होइन; फरक–प्रतिको द्वेष हो।
“हामी नेपाली” भन्ने भाषाभित्र प्रायः “तिमी होइनौं” भन्ने मौन वाक्य लुकेको हुन्छ।
नागरिकता नभएका, सीमान्तमा जन्मिएका, वा फरक रहन–सहन गर्नेहरूलाई यो राष्ट्रवादले सहजै परिवार बाहिर धकेल्छ।
त्यसैले, राष्ट्रवाद एकता होइन — सुगठित विभाजन हो।
राष्ट्र–राज्यको पारि
राहदानी — जुन अहिले “अस्तित्वको प्रमाण” ठानिन्छ — सय वर्षभन्दा पुरानो होइन। अहिलेका अन्तर्राष्ट्रिय सीमाहरू पनि पहिलो विश्वयुद्धपछि मात्र स्थायी बनाइएका हुन् — आप्रवासन नियन्त्रण र शक्तिशाली देशको हितका लागि।
ती सीमाहरू सुरक्षाका लागि होइन, विशेषाधिकार जोगाउनका लागि बनाइएका थिए।
तर २१औँ शताब्दीमा राष्ट्र–राज्यको अवधारणा आफैं भत्किँदैछ। जलवायु संकट, प्रविधि, र जेनजेड पुस्ताको डिजिटल आन्दोलनले सीमाहरूको कृत्रिमता उजागर गरिरहेको छ। हाम्रा समस्या — वातावरणीय, मानवीय वा आर्थिक — कुनै नक्साले रोक्न सक्दैन।
अबको क्रान्ति सम्भवतः राष्ट्रिय होइन — वैश्विक हुनेछ।
‘वसुधैव कुटुम्बकम्’को पुनःअधिग्रहण
यदि संसार साँच्चिकै परिवार हो भने, राष्ट्रवाद त्यो परिवारभित्रको झगडा हो — जसले सबै नाता तोडिदियो।
अब समय छ — आधुनिक राष्ट्रवादभन्दा पहिले रहेको त्यो पुरानो, विश्वव्यापी चेतनालाई पुनःस्मरण गर्ने — विश्व–नागरिकताको चेतना पुनर्जीवित गर्ने।
यदि हामी नेपाली हौँ भने, त्यो सीमा जोगाएर होइन; बरु करुणा, सह–अस्तित्व र आपसी निर्भरता बाँडेर हो।
हामी ‘यात्रा’ गरेर मात्र होइन, ‘सह–अनुभूति’ गरेर विश्वका नागरिक हौँ।
राष्ट्रवाद विभाजन गर्छ; आत्मीयता जोड्छ।
पृथ्वीले देशहरू चिन्दैन — मानिसहरूले मात्रै चिन्छन्।
र सायद, समस्या त्यहीँ छ।

साताकाे चर्चित
सम्बन्धित