काठमाडौं ।
आज देशभर हरिबोधिनी एकादशी अर्थात् कार्तिक शुक्ल एकादशी धार्मिक श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। हिन्दू परम्पराअनुसार यस दिन भगवान् विष्णु शयनबाट जाग्रत हुने विश्वास गरिन्छ, त्यसैले यस एकादशीलाई ‘प्रबोधिनी एकादशी’ वा ‘हरिबोधिनी एकादशी’ पनि भनिन्छ।
धार्मिक विश्वासअनुसार आषाढ शुक्ल एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा विश्राम लिनुहुन्छ भने चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन उहाँ पुनः जाग्रत हुनुहुन्छ। यस अवसरमा भक्तजनहरूले भगवान् विष्णु र तुलसीको संयुक्त आराधना गरी विशेष पूजा–व्रत गर्ने परम्परा रहँदै आएको छ।
एकादशीको अघिल्लो दिनदेखि नै भक्तजनहरूले चोखो बस्ने, जग्गे बनाई लिङ्गो गाड्ने र बेलुका सत्यनारायणको कथा वाचन गर्ने चलन छ। आजको दिनमा डोरीमा बेल, पीपल, सयपत्रीलगायतका पवित्र फूल उनेर त्यसलाई डोलीमा राखी नदी तार्ने परम्परा समेत रहँदै आएको छ।
जनविश्वास अनुसार यसरी फूलको डोली नदी पार गर्दा पाप नष्ट हुने र मृत्युपछि आत्माले वैतरणी नदी सहजै पार गर्न सक्ने विश्वास गरिन्छ। हरिबोधिनी एकादशीलाई भगवान् विष्णुको आराधना, सद्कर्म र आत्मशुद्धिको प्रतीकका रूपमा मनाइन्छ।