काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘घर फर्कन’ भन्ने आह्वानमा व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।
शुक्रबार सुकेधारामा आयोजित आफ्ना पक्षधरहरूको भेलामा सहभागी भएका खनाललाई सञ्चारकर्मीहरूले ओलीको आह्वानबारे सोध्दा उनले हाँस्यात्मक ढंगले भने, “हामी कोही पनि वनमा छैनौं, घरमै छौं।”
पार्टीभित्र माओवादी केन्द्रसँगको एकताप्रति असन्तुष्ट देखिएका खनालले ओलीको प्रस्तावलाई सिधै अस्वीकार नगरी त्यसका लागि केही शर्तहरू पूरा गर्नुपर्ने बताएका छन्। उनले भने, “घर फर्कनका लागि ढोका राम्ररी खोल्नुपर्यो, बस्ने ठाउँ पनि मिलाउनुपर्यो, त्यस्तो भयो भने फर्किन के समस्या हुन्छ र?”
हालै एमाले अध्यक्ष ओलीले समाजवादी पार्टीमा देखिएको विवादबीच ‘पार्टी छाडेकाहरूलाई घर फर्कन’ सार्वजनिकरूपमा आग्रह गरेका थिए।
खनालले भने आफूहरूको कदम विभाजनका लागि नभई पुनर्गठन र कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने प्रक्रियाको हिस्सा भएको स्पष्ट पारे। उनले भने, “कहिलेकाहीँ टुक्रिनु पनि सिंगो हुनका लागि आवश्यक हुन्छ। यो पनि त्यसै प्रक्रियाको एउटा चरण हो।”
उनका अनुसार, अहिले भइरहेको छलफल र भेला कम्युनिष्ट आन्दोलनलाई पुनः एकतामा ल्याउने प्रयासको अंग हो।