काठमाडौँ ।
आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ।
शुक्रबारका लागि तय गरिएको बैठक पनि बस्न नसकेपछि आजका लागि पुनः बैठक तय गरिएको थियो।
कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिबारे विवाद जारी छ। शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरेको भए पनि सफल हुन सकेको थिएन।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्तुत गरेका थिए। महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यहरूबाट महाधिवेशन चुनाव अघि कि पछि हुने भन्ने विषयमा भोटिङ गर्ने प्रस्ताव पनि गरेका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तावमा सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने तयारी गरेका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।









