जुम्ला ।
कनकासुन्दरी–३ बुढूमा अवस्थित बुढू मस्टो देवताको दर्शन र पूजापाठका लागि वर्षमा तीनपटक भक्तजनको ठूलो भीड लाग्ने गर्छ । प्राचीन कालदेखि चली आएको धार्मिक परम्पराअनुसार बुढू मस्टो देवताप्रति आस्था राख्ने भक्तहरू देशका विभिन्न स्थानबाट यहाँ आउने गर्छन् ।
मस्टाका डाँग्रि लालभक्त बुढाका अनुसार बाँके, बर्दिया, कैलाली, दैलेख, अछाम, जाजरकोट, डोल्पा, बाजुरा, मुगु र जुम्लाका भक्तजन बुढू मस्टोको पूजामा सहभागी हुन आउँछन् । उनीहरूको विश्वास छ – जग्गा विवाद समाधान, दम्पतीका सन्तान प्राप्ति, रोग-व्याधि निवारण, वा देवताको ‘छाप’ लिन यहाँ पूजा गर्दा मनोकामना पूरा हुन्छ ।
स्थानीय रन बुढाका अनुसार भक्तजनहरू खसी, बोकाको बलि, घोडा, ध्वजा, चामल र अन्य पूजासामग्री ल्याएर देवतालाई अर्पण गर्छन् । त्यसपछि ‘देवताका पाउना’ (भक्तजन) प्रसन्न हुँदै घर फर्किन्छन् । विशेषतः बैशाख र कार्तिक पूर्णिमाका बेला यहाँ भीड अत्यधिक हुने गरेको छ ।
डोल्पाका रतन रावतले चार दिनको पैदल यात्रा गरेर बुढू मस्टो थानमा पुगेका थिए । उनका अनुसार, “हामीका बाजे–बुबाले पनि बुढू मस्टो मान्दै आएका थिए । अहिले हामीले पनि देवता हेरायौं र राम्रो फल पाएका छौं ।”
भक्तजनहरूको बसोबास र खानपानका लागि स्थानीयहरूले व्यवस्था गर्न थालेका छन् । उनीहरूका अनुसार, “यदि सुविधामा अझ सुधार गर्न सकियो भने भक्तहरू झन् सन्तुष्ट भएर फर्किनेछन् ।” हालै गोठिज्युलादेखि बुढूसम्मको सडक स्तरीकरण भएपछि साना–ठूला गाडी रिजर्भ गरी भक्तजनहरू सजिलै मस्टो थान पुग्ने गरेका छन् ।
बुढू मस्टोका मुख्य धामी अहिले नयाँ नियुक्त भएका छन् भने अन्य धामीहरूले पनि भक्तहरूका लागि देवता हेर्ने कार्य गर्दै आएका छन् । धार्मिक मान्यताअनुसार बुढू मस्टोको पूजा हरेक एकादशीदेखि सुरु भएर पूर्णिमाको दिन विशेष रूपमा सम्पन्न हुन्छ । त्यस दिन एक सयभन्दा बढी पाठा बलि दिइन्छ, र हजारौं भक्तजनले दर्शन गर्छन् ।