काठमाडौं।
नेकपा (माओवादी केन्द्र)भित्र एकतापछि फेरि असन्तुष्टि सार्वजनिक भएको छ। पार्टीले नेकपा (एकीकृत समाजवादी)लगायतका आठ दलसँग एकता गर्ने निर्णय गरेपछि पूर्व उपमहासचिव जनार्दन शर्मा, पूर्व सचिव राम कार्की र पूर्व स्थायी समिति सदस्य अञ्जना विशुंखेलले पार्टी त्याग्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ नामको नयाँ राजनीतिक अभियान सुरु भएको घोषणा गरे।
उनका अनुसार माओवादी आन्दोलनको मूल नेतृत्वले दशक लामो जनयुद्ध र पछिल्लो जेन–जी आन्दोलनबाट उठेका जनताको आकांक्षाविपरीत दिशा लिएको कारण आफूहरू नयाँ बाटोमा लाग्न बाध्य भएका हुन्।
शर्माले भने, “विगतका हाम्रा कमजोरी र गलत अभ्यासहरू स्वीकार गर्दै अब नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्ने निर्णय गरेका छौं।”
पूर्व सचिव राम कार्कीले पनि हालको नेतृत्वलाई अक्षम र दिशाहीन भन्दै, समयले माग गरेको परिवर्तनका लागि वैचारिक र संगठनात्मक रूपमा नयाँ अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार प्रगतिशील अभियान नेपालले विखण्डित वाम र प्रगतिशील शक्तिलाई पुनः एकत्रित गरी समाजवादी आन्दोलनलाई बलियो बनाउन दीर्घकालीन राजनीतिक प्रक्रिया अघि बढाउनेछ।