आँखाको ज्योति गुमाएका १४ वर्षीय रावतले नराकोट शिविरबाट पाए नयाँ जीवन
आँखाको ज्योति गुमाएका १४ वर्षीय रावतले नराकोट शिविरबाट पाए नयाँ जीवन
    • उमेश बुढा

    • १९ कार्तिक २०८२, बुधबार

जुम्ला ।

सिँजा गाउँपालिका–६ भाडगाउँका १४ वर्षीय दिनेश रावतले एक महिनाअघि आँखामा चोट लागेर दृष्टि गुमाएका थिए । तर, हालै नराकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क आँखाको मोतिबिन्दु शल्यक्रिया शिविरमा सफल अपरेसनपछि उनले पुनः दृष्टि प्राप्त गरेका छन् ।

सिँजा गाउँपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको उक्त निःशुल्क शल्यक्रिया शिविरमा रावतसहित दर्जनौँ बिरामीले उपचार पाएका थिए ।

दिनेशका अनुसार, करिब एक महिनाअघि बारीमा काम गर्ने क्रममा काँडाले दायाँ आँखामा चोट लागेको थियो । प्रारम्भिक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुगे पनि अवस्था सुधार नभएपछि उनी बुबासँग जुम्ला सदरमुकाम खलंगास्थित नेत्र ज्योति संघमा पुगेका थिए । तर, त्यहाँका चिकित्सकहरूले शल्यक्रिया त्यहाँ सम्भव नभएको भन्दै अन्यत्र जान सुझाव दिएका थिए ।

“त्यसपछि म र बुबा घर फर्कियौँ,” उनले भने, “पछिल्लोपटक नराकोटमा निःशुल्क आँखाको शिविर लागेको थाहा पाएपछि त्यहाँ गयौँ र शल्यक्रिया गराएँ। अहिले म नजिक–टाढा सबै वस्तु देख्न सक्छु।”

शल्यक्रियापछि दृष्टि फिर्ता पाएका दिनेशले पुनः देख्न पाउँदा खुशी व्यक्त गरेका छन् । गाउँकै स्वास्थ्य चौकीमा यस्तो सेवा पाउँदा स्थानीयहरू पनि उत्साहित भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित