काठमाडौँ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र छोडेका जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले देशको राजनीतिक अन्योल समाधान गर्ने उद्देश्यका साथ सहकार्य अघि बढाउने सहमति गरेका छन्।
शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लवनिवासमा भएको भेटमा तीन नेताबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र सम्भावित रणनीतिबारे छलफल भएको थियो।
भूसालले बैठकपछि बताए, “हामी सहकार्यमा छौं। मुलुकको आवश्यकताअनुसार यस सहकार्यलाई विस्तार र घनिभूत गर्ने विषयमा छलफल भइरहेको छ। हामी एकताबद्ध तर ‘एकीकरण’ भन्ने भ्रम नपरोस् भन्ने कुरामा ध्यान दिन्छौं।” उनले विगतमा पनि सहकार्य रहेको तर कमजोर भएको स्मरण गर्दै अब यसलाई नवीकरण गरिने बताए।
बैठकका निष्कर्षलाई समेट्दै तीन नेताले आजै संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरेका छन्। यस सहकार्यपछि शर्मा र भूसालले आफ्नै अभियान अलग–अलग तर समन्वित रुपमा अघि बढाउने घोषणा गरेका छन्। शर्माले “प्रगतिशील अभियान नेपाल” नामबाट युवाहरूसँग अभियान सञ्चालन गर्ने भने भूसालले एकीकृत समाजवादीबाट अलग रहेका सदस्यहरूलाई एकीकृत गर्दै आफ्नो अभियान अघि बढाउने बताएका छन्।
शुक्रबार विप्लवले काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार गठन लगायतको मागसहित र्याली र जनसभा पनि गरेका थिए। उनले त्यहाँ सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याएका थिए।