काठमाडौँ।
अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले कहिल्यै पनि राजनीतिक दलहरूको सम्मान घटाएको छैन भनी दाबी गरेका छन्। यो टिप्पणी प्रधानमन्त्री सुशीला कार्कीमाथि राजनीतिक दलहरूलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला आएका हुन्।
शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सिन्हाले असन्तुष्ट पक्षहरूसँग बारम्बारको छलफलका कारण दलहरूसँगको सम्पर्क केही ढिला भएको स्पष्ट पारे। उनले भने, “सरकारले दलहरूलाई अवमूल्यन गरेर अघि बढाए असहज परिस्थिति आउँछ। प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्ने हाम्रो एकमात्र लक्ष्य भए पनि असन्तुष्ट पक्षसँगको सुनुवाइ, सरकारको दैनिक काम र चुनाव तयारी सबैको जिम्मेवारीसँगै हुँदा ढिला हुन गएको हो।”
मन्त्री सिन्हाले सुरुका दिनमा जेनजी समूहहरूसँगको लगातार छलफलमा धेरै समय गएको पनि बताए। उनले जनताले सुरक्षा व्यवस्था सहज बनाउन प्रहरीलाई गरेको सहयोगको खुलेर प्रशंसा गर्दै भने, “त्यो परिस्थितिमा सुरक्षाकर्मीहरूलाई आवश्यक सामग्री थिएन, तर जनताले साथ दिएर सौहार्दपूर्ण वातावरण निर्माण गर्न मद्दत गरे। यसका लागि म आभारी छु।”
सिन्हाले मुलुकको सुरक्षा र प्रशासनिक कामलाई सहज बनाउन सर्वसाधारण जनताले दिएको ठुलो समर्थनको समेत मूल्याङ्कन गरेका छन्।