काठमाडौँ ।
मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल पुनः कम्युनिस्ट राजनीतिमा सक्रिय हुँदै छन् । उनी आउँदो बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गर्न लागेका छन् ।
रावल नेकपामा समाहित हुने कार्यक्रम कात्तिक २६ गते राष्ट्रिय सभा गृहमा हुने भएको छ । सो अवसरमा नेकपा (एकीकृत) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तयारी गरिएको छ ।
एमालेबाट निष्कासित भएपछि रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए । एमाले नेतृत्वले पूर्व नेताहरूलाई पुनः पार्टीमा फर्किन आग्रह गरे पनि रावल त्यसतर्फ नफर्की स्वतन्त्र अभियानमै सक्रिय थिए ।
हालै रावल र नेकपाका शीर्ष नेताबीच भएको वार्ताले सकारात्मक परिणाम दिएको र यही वार्ताको निष्कर्ष स्वरूप उनी पार्टीमा प्रवेश गर्न लागेको बताइएको छ ।
‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेकपामा प्रवेश गरेपछि कम्युनिस्ट एकताका प्रयासहरूलाई थप गति मिल्ने अपेक्षा गरिएको छ ।