प्रधानमन्त्री कार्की र स्थानीय सरकारका प्रतिनिधिबीच निर्वाचन तयारी र सहकार्यबारे छलफल
प्रधानमन्त्री कार्की र स्थानीय सरकारका प्रतिनिधिबीच निर्वाचन तयारी र सहकार्यबारे छलफल
    • बेल संचार

    • २४ कार्तिक २०८२, सोमबार

काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बालुवाटारमा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग समसामयिक विषयमा व्यापक छलफल गरेकी छिन्।

बैठकमा स्थानीय सरकारका हालका गतिविधि, सामना गरिरहेका चुनौतीहरू र आगामी निर्वाचन तयारीका विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सहभागीहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना मजबुत बनाउनुपर्नेमा एकमत जनाएका छन्।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि उपस्थिति रहेको थियो। गृहमन्त्री अर्यालले असामान्य परिस्थितिमा सरकारको प्राथमिकता शान्ति र सुरक्षा कायम गर्नु रहेको भन्दै स्थानीय सरकारहरूले त्यसका लागि सहयोग गर्न आग्रह गरे। उनले हराइरहेका करिब पाँच हजार कैदीबन्दी र केही हतियार फिर्ता गर्ने सरकारी प्रयासमा स्थानीय तहबाट सूचना र सहयोग आवश्यक रहेको बताए।

स्थानीय जनप्रतिनिधिहरूले मितव्ययिता सम्बन्धी सरकारी निर्देशनका कारण करार कर्मचारी नियुक्ति र ठेक्का प्रक्रिया प्रभावित भएको बताउँदै त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। साथै, तीनै तहका सरकारबीच समन्वयका लागि बनेका संयन्त्रहरूलाई सक्रिय पार्न पनि सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले स्थानीय सरकारहरूको भूमिकालाई अत्यावश्यक बताउँदै, निर्वाचन तयारीदेखि सुशासन र शान्ति प्रवर्द्धनसम्म सबै क्षेत्रमा सहकार्य र एकताको आवश्यकता औंल्याइन्। उनले राजनीतिक दलको प्रणालीभित्र रहेर अघि बढ्नुपर्ने धारणा राख्दै, नयाँ राजनीतिक समूहहरूलाई समेत संगठनात्मक रूपमा चुनावी प्रतिस्पर्धामा आउन सुझाव दिइन्।

साताकाे चर्चित
सम्बन्धित