काठमाडौं ।
नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कार्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको हो। यो जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले दिएका छन्।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत छन्। उनीसँगै एआईजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह आईजीपी पदका प्रतिस्पर्धीमा रहेका थिए, तर वरिष्ठता र अनुभवका हिसाबले कार्की अग्रस्थानमा थिए।
हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाअवधि पूरा गर्दै कार्तिक २६ गतेदेखि अवकाशमा जाने भएकाले नयाँ आईजीपीको नियुक्ति गरिएको हो।
कार्कीले आफ्नो सेवाकालमा काठमाडौं जिल्ला प्रहरी परिसर र कास्की जिल्ला प्रहरी कार्यालयजस्ता संवेदनशील जिम्मेवारी सम्हालिसकेका छन्। उनलाई सहकर्मीहरू व्यावसायिक, शान्त स्वभावका र दबाबका परिस्थितिमा पनि सन्तुलित निर्णय लिन सक्ने अधिकृतका रूपमा चिन्ने गर्छन्।
प्रहरी निरीक्षकको पदबाट सेवामा प्रवेश गरेका कार्कीले संयुक्त राष्ट्रसंघ (यूएन) मिशनमा समेत लामो समय सेवा दिएका थिए। कानुनको पालना र आर्थिक पारदर्शिताका कारण उनको छवि संगठनभित्र इमानदार र विश्वसनीय अधिकृतको रूपमा रहेको बताइन्छ।
बानेश्वर वृत्तमा कार्यरत रहँदा कालोबजारीविरुद्ध मुद्दा अघि बढाउँदा तत्कालीन वरिष्ठ अधिकृतको गलत निर्देशन नमान्ने साहस देखाएका कारण पनि उनी चर्चामा आएका थिए। कार्कीलाई मातहतका प्रहरीहरूसँग सहकार्य गर्दै संगठनभित्र शिस्त र आदेशको सुदृढ श्रृंखला कायम राख्ने अधिकृतका रूपमा मूल्यांकन गरिन्छ।