मोरङमा गोहीहोली खोलाको पुल शिलान्यास गर्दै कांग्रेस नेता डा. सुनिल शर्मा : जनताको पक्षमा इमानदार भएर काम गर्दा डराउनुपर्ने अवस्था हुँदैन
मोरङमा गोहीहोली खोलाको पुल शिलान्यास गर्दै कांग्रेस नेता डा. सुनिल शर्मा : जनताको पक्षमा इमानदार भएर काम गर्दा डराउनुपर्ने अवस्था हुँदैन
    • बेल संचार

    • २५ कार्तिक २०८२, मंगलवार

मोरङ ।

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा निष्ठापूर्वक काम गर्ने नेतृत्व कहिल्यै डराउनु नपर्ने बताएका छन्। मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मा निर्माण हुन लागेको गोहीहोली खोलाको पुल शिलान्यास कार्यक्रममा उनले जनताको विश्वास, प्रेम र सद्भाव इमानदार कर्मबाट नै आर्जन गर्न सकिने उल्लेख गरे।

डा. शर्माले भने, “जब जनताको पक्षमा मन र मस्तिष्कले काम गर्छौं, तब भाग्नुपर्ने वा डराउनुपर्ने स्थिति कहिल्यै आउँदैन। जनताको समर्थन र माया नै नेतृत्वको शक्ति हो।” उनले मोरङ क्षेत्र नं. ३ लाई देशकै आदर्श र रोलमोडल निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार मोरङ क्षेत्र भविष्यमा अन्तर्राष्ट्रिय अध्ययनको केन्द्र बन्ने सम्भावना रहेको छ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

स्थानीयबासीका अनुसार गोहीहोली खोलामा पुल नहुँदा लामो समयदेखि आवत–जावतमा समस्या हुँदै आएको थियो। वर्षायाममा आवागमन जोखिमपूर्ण बन्ने गरेको र स्वास्थ्य, शिक्षा तथा व्यापारमा समेत असर परेको जनाइएको छ।

पिपलचोकलाई किरातचोकसँग जोड्ने सो पुल करिब ७ करोड ८३ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण गरिने भएको छ।

 

साताकाे चर्चित
सम्बन्धित