जुम्ला ।
जुम्लाको सिँजा, हिमा र कनकासुन्दरी गाउँपालिकाका ७७६ जनाले दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट उपचार सेवा पाएका छन्।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पशुपति होमियोप्याथिक चिकित्सालय, हरिहर भवन ललितपुरको आयोजनामा र सिँजा गाउँपालिकाको सहआयोजनामा कार्तिक २४ र २५ गते सिँजाको फुटाशिलीस्थित आधारभूत विद्यालय धिलालिहीमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा खोकी, दम, छाती दुख्ने, छाला र पाचन प्रणालीका समस्या, पत्थरी, मृगौला, पित्तथैली, मधुमेह, हाडजोर्नी, युरिक एसिड, वाथरोग, उच्च रक्तचाप, टाउको दुख्ने, पिनास, माइग्रेन, पाइल्स, फिस्टुला, फिसर, नाक–कान–घाँटीका समस्या, प्रजनन र यौनरोग, महिला तथा बालरोग, मानसिक समस्या, शरीरमा हुने गाँठागुठी लगायतका रोगहरूको जाँच र उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए।
उनका अनुसार दुई दिन सञ्चालन भएको शिविरमा सिँजा गाउँपालिकाका ४९५ जना, हिमा गाउँपालिकाका २३६ जना र कनकासुन्दरी गाउँपालिकाका ४५ जनाले स्वास्थ्य सेवा लिएका थिए।
हिमा–१ का भिमराज शाहीले शरीरमा भएका गाँठागुठीको उपचार गराउन पाएको बताए। उनले भने, “सिँजामै उपचार सुविधा पाउँदा निकै सहज र खुसी लागेको छ।”
त्यस्तै सिँजा–६ की ममता रावतले तल्लो पेट दुख्ने समस्या समाधान भएको बताइन्। “घरनजिकै निःशुल्क उपचार सुविधा पाउँदा धेरै राहत भएको छ,” उनले भनिन्।
शिविरको उद्घाटन सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले गरेका थिए। उनले काठमाडौंदेखि टाढा रहेका नागरिकलाई निःशुल्क उपचार सुविधा उपलब्ध गराउने चिकित्सक टोलीप्रति धन्यवाद व्यक्त गर्दै शिविरको सफलताको शुभकामना दिएका थिए।
शिविरमा ४२५ जना महिला र ३५१ जना पुरुषले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ।