जुम्ला ।
नेकपा (एमाले) ले मंगलबार जुम्लाका सात पालिकामा जनप्रदर्शन गरेको छ।
‘प्रतिगामी गतिविधि र षड्यन्त्रविरुद्ध’ देशभर प्रदर्शन गर्ने पार्टी निर्णयअनुसार जुम्लामा पनि कार्यक्रम गरिएको हो।
एमालेको केन्द्रीय समितिले सबै ७५३ पालिकामा जनपरिचालन गर्ने योजना ल्याएको थियो। त्यस अनुसार जुम्लाका आठ पालिकामध्ये सातवटामा प्रदर्शन सम्पन्न भएको हो। पातारासी गाउँपालिकामा भने प्राविधिक कारणले कार्यक्रम हुन सकेन, एमाले जुम्लाका सचिव मानबहादुर रोकायाले जानकारी दिनुभयो।
कार्यक्रममा हालको राजनीतिक परिस्थिति, संसद विघटन र एमालेको आगामी रणनीतिबारे कार्यकर्तालाई जानकारी दिइएको थियो। सातै पालिकामा र्याली र कोणसभा आयोजना गरिएको थियो।
सिँजाको नराकोट बजारमा भएको कोणसभामा एमाले जिल्ला सदस्य सुमन आचार्यले वर्तमान सरकारले संविधानविपरीत काम गरिरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार ‘जेन-जी आन्दोलन’को नाममा देश अस्थिर बनाउन खोजिँदैछ र यस्तो गतिविधिविरुद्ध सबै देशभक्त नागरिक एक हुनुपर्छ।
आचार्यले वास्तविक युवाहरूले आपराधिक गतिविधि नगर्ने बताउँदै केही समूहले देशमा अराजकता मच्चाइरहेको आरोप लगाउनुभयो। उहाँले ती समूहको छानबिन गरी कारबाही गर्न माग गर्नुभयो।
सभामा अन्य नेताहरूले पनि प्रधानमन्त्री सुशीला कार्की संविधानविपरीत रूपमा नियुक्त भएकी भन्दै संसद विघटन गर्ने अधिकार नरहेको टिप्पणी गरे। उनीहरूले सरकार चुनाव गर्न असक्षम भएको भन्दै असंवैधानिक बाटो नअपनाउन आग्रह गरे।