काठमाडौं ।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईँको समूह र सरकारले मंगलबार गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ ।
वार्तामा दुर्गा प्रसाईँ स्वयं सहभागी छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवीप्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह सहभागी भएका छन्।
नेता खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन्। त्यसै विषयमा दुबै पक्षबीच छलफल चलिरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रीस्तरीय स्तरको यो वार्तामा प्रसाईँ सहभागी नभए पनि, उनले प्रधानमन्त्री स्तरको वार्तामा आफैं बस्ने संकेत गरेका थिए। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले समेत वार्ता भइरहेको पुष्टि गरेका छन्। वार्ताको सहजीकरण कानुन व्यवसायी लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन्।
यसअघि, सरकारले कात्तिक १८ गते प्रसाईँको नागरिक बचाउ महाअभियान कार्यालयमा पत्र पठाउँदै वार्ताको प्रस्ताव गरेको थियो।
दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशभर आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन्। गत चैत १५ मा उनले नेतृत्व गरेको प्रदर्शन तीनकुनेमा हिंसात्मक बनेपछि तोडफोड र आगजनीसम्म पुगेको थियो।
यसपटक उनले नेपाली कांग्रेस (बीपी) समूहसँग सहकार्य गरेर आन्दोलन गर्ने तयारी गरिरहेका छन्। कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा उनले गरेको भाषणमा पनि आन्दोलनको तयारीबारे आक्रामक अभिव्यक्ति दिएका थिए।
सुरक्षा निकायले सम्भावित हिंसात्मक गतिविधि रोक्न प्रसाईँ र उनको समूहमाथि निगरानी बढाएको जनाएको छ। हालै काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले पनि यस विषयमा बैठक गरी सुरक्षा रणनीति तय गरेका छन्।