गुल्मी।
रेसुङ्गा विमानस्थलमा आजदेखि नियमित सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार, ट्वीनअटर जहाजको मर्मतपछि अब नियमित उडान तालिका लागू गरिएको हो।
विगत पाँच महिनादेखि बिग्रिएको जहाजका कारण जिल्लामा हवाई उडान हप्तामा केवल बिहीबार एक पटक मात्र हुँदै आएको थियो। अहिले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार हप्तामा चार पटक उडान हुने निगमले जनाएको छ।
सो विमानस्थलमा १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे उडान गर्ने व्यवस्था छ। काठमाडौँ–गुल्मीका लागि भाडादर रु ७,५०० र गुल्मी–काठमाडौँका लागि रु ७,३०० निर्धारण गरिएको छ।
निगमका अनुसार, दिउँसो र मध्यदिनमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिले उडान बिहान मात्र सञ्चालन गरिएको हो।