जुम्ला ।
जुम्लामा थप ५३१ जना नयाँ मतदाता दर्ता भएका छन्। निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि आह्वान गरेसँगै सो संख्यामा मतदाता थपिएका हुन्।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख नारायणी आचार्यका अनुसार गत असोज १० गतेअघि पनि मतदाता नामावली संकलन गरिएको थियो। जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ युवा मतदातालाई सहभागी गराउन पुनः मतदाता नामावली दर्ता प्रक्रिया सञ्चालन गरेको बताइन्।
उनका अनुसार २०७९ सालको निर्वाचनमा जुम्लामा पुरुष ३५ हजार २ सय ७३ र महिला ३२ हजार ४ सय ७१ गरी कुल ६७ हजार ७ सय ४४ मतदाता रहेका थिए। हाल थपिएको मतदाता संख्यामा पुरुष ३३०, महिला २०१ र अन्य जिल्लाबाट आएका पुरुष २३ तथा महिला ७ जना रहेका छन्।
यससँगै हालसम्म जुम्ला जिल्लाको कुल मतदाता संख्या ६८ हजार ६३८ पुगेको छ।
निर्वाचन कार्यालयका अनुसार यो विवरण असोज १० गतेदेखि कार्तिक २७ गतेसम्मको हो। मतदाता नामावली दर्ता अभियान अझै तीन दिनसम्म जारी रहने बताइएको छ।