काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा बसेका नेपालीहरूको समस्या सुनेर समाधान गर्न नेपाली दूतावासले अभिभावकको भूमिका खेल्नुपर्ने बताएका छन्।
शुक्रबार सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दा मन्त्री खरेलले त्यहाँ कार्यरत अधिकारीलाई नेपाली श्रमिक र विद्यार्थीको हक–अधिकार सुरक्षित राख्न सक्रिय बन्न अनुरोध गरे।
मन्त्री खरेलको सचिवालयका अनुसार उनले नेपाल–कोरिया सम्बन्ध अझ मजबुत बनाउन, र कोरियाबाट नेपालमा लगानी बढाउने वातावरण बनाउने काममा दूतावासले सक्रिय पहल गर्नुपर्ने बताएका छन्।
उनीका अनुसार दूतावासको कामप्रति नेपाली समुदायबाट विभिन्न गुनासा आउने गरेकोले, दूतावासले दुई देशबीचको सहकार्य, आपसी हित र सेवा–सहजीकरणमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दूतावासमा कर्मचारी कम भएकाले दैनिक काम गर्न कठिनाइ भइरहेको बताइन्। साथै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादले पनि दूतावासको काम प्रभावकारी हुन नसकेको जानकारी दिइन्।
मन्त्री खरेल २५ कात्तिकमा दक्षिण कोरिया पुगेका थिए। उनी सिओलमा आयोजित ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ मा सहभागी छन्।